दाङ : माध्यमिक शिक्षा परिषद्ले लिएको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दाङको घोराही उपमहानगरपालिकामा रहेको संस्थागत विद्यालयको नतिजा प्रभावशाली देखिएको छ,भने सामुदायिक विद्यालयको नतिजा तुलनात्मक रूपमा निकै कमजोर देखिएको छ। घोराही क्षेत्रका २६ वटा संस्थागत विद्यालयले औसत ९०.६८ प्रतिशत विद्यार्थी ग्रेडेड गराउँदा, ४७ वटा सामुदायिक विद्यालयबाट केवल ३९.३४ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका छन्।विशेष गरी सामुदायिक विद्यालयतर्फ घोराही–६ मा रहेको माध्यमिक विद्यालय जजरागाउँले भने उत्कृष्ट प्रदर्शन गर्दै ५१ विद्यार्थीमध्ये ४३ जना ग्रेडेड गराउँदै ८४.३ प्रतिशत नतिजा ल्याएको छ।
बाँकी ८ जना ननग्रेडेड विद्यार्थी मौका परीक्षा दिन पाउने छन्। दोस्रो स्थानमा घोराही–१९ स्थित अन्तर्राष्ट्रिय युवा वर्ष मावि रहेको छ। यहाँबाट ७ जना विद्यार्थी सहभागी हुँदा ५ जना ग्रेडेड भई ७१.४३ प्रतिशत नतिजा आएको हो। तेस्रो स्थानमा घोराही–१४ नयाँ बजारस्थित शुभप्रभात माविले ६४ विद्यार्थीमध्ये ४१ जनालाई ग्रेडेड गराउँदै ६४.०६ प्रतिशत नतिजा ल्याएको छ। चौथो स्थानमा घोराही–७ मा रहेको मावि सौडियारले ७२ मध्ये ४४ जना विद्यार्थी ग्रेडेड गराउँदै ६१.११ प्रतिशत नतिजा ल्याएको छ। पाँचौं स्थानमा जनजागृति मावि लमडरुवा रहेको छ जसले ३० विद्यार्थीमध्ये १८ जनालाई ग्रेडेड गराउँदै ६० प्रतिशत नतिजा ल्याएको हो।
यसैबीच, सबैभन्दा कमजोर नतिजा घोराही–९ स्थित नरदेवी माविबाट आएको छ जहाँ ६६ विद्यार्थीमध्ये केवल ८ जना मात्र ग्रेडेड भएका छन्। बाँकी ५८ जना ननग्रेडेड भएका हुन्। कुल रूपमा, घोराहीका २६ सामुदायिक विद्यालयबाट २,०४६ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ८०५ जना (३९.३४%) ग्रेडेड भए भने १,२४१ जना ननग्रेडेड भएका छन् । संस्थागततर्फ ४७ विद्यालयबाट १,८७९ जना विद्यार्थी सहभागी हुँदा १,७०४ जना (९०.६८%) ग्रेडेड भएका छन्।
समग्रमा, घोराहीका ७३ विद्यालय (२६ संस्थागत र ४७ सामुदायिक) बाट ३,९२५ विद्यार्थी सहभागी हुँदा ६३.९२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। शतप्रतिशत नतिजा ल्याउने १४ वटा संस्थागत विद्यालयमा सिद्धार्थ एकेडेमी, दीपशिखा मावि, शान्तिसुधा मावि, हिन्दु विद्यापीठ नेपाल, लिटिल एञ्जल स्कुल, ग्यालेक्सी एकेडेमी, ज्ञानमाला एकेडेमी, ज्ञानसिन्धु एजुकेशन एकेडेमी, विद्याकुञ्ज मावि, हाईलाईट स्कुल, ज्ञानज्योति एकेडेमी, सनराइज एकेडेमी, आर्वराइजिङ एकेडेमी र रमना पाठशाला परेका छन्।