काठमाडौं : अभिनेता दयाहाङ राई र गायक तथा अभिनेता प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । निर्देशक यम शेर्पाका अनुसार आइतबारदेखि काठमाडौंस्थित कान्तिपुर फिल्म एकेडेमीमा मुख्य कलाकारहरूको सहभागितामा वर्कसप सुरु गरिएको हो ।
निर्देशक शेर्पाले वर्कसपबारे जानकारी दिँदै भने, “सुटिङ सहज बनाउन तथा कलाकारबीचको तालमेल र क्यारेक्टरको गहिराइ बुझ्न वर्कसप आवश्यक ठानेका हौं । यसले छायांकन छिटो र प्रभावकारी बनाउन सहयोग गर्नेछ ।” चलचित्र ‘मिरमिरे’को छायांकन यही शुक्रबारबाट सुरु हुने जनाइएको छ । फिल्मको अधिकांश छायांकन स्थल काभ्रेपलाञ्चोक जिल्ला रहनेछ ।
यस चलचित्रमार्फत दयाहाङ र प्रकाश पहिलो पटक एउटै पर्दामा देखिन लागेका हुन् भने निर्देशक यम शेर्पाको यो दयाहाङसँग दोस्रो सहकार्य हो । उनीहरू यसअघि चलचित्र ‘कार्साङ’मा सँगै काम गरिसकेका छन् । ‘मिरमिरे’मा दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु, माओत्से गुरुङ लगायतको पनि प्रमुख अभिनय रहनेछ ।
चलचित्रको लेखन तथा निर्देशन यम शेर्पा स्वयंले गरेका हुन् । तर, चलचित्रको कथावस्तु हाल सार्वजनिक गरिएको छैन । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्र ‘मिरमिरे’का निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन् । सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर र ईश्वर श्रेष्ठ छन् भने कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन् ।चलचित्र ‘मिरमिरे’ २०८२ सालमा प्रदर्शनमा आउनेछ । वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ । प्रदर्शन मिति भने हाल तय गरिएको छैन ।