दाङ : असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर हिमाल एकाडेमी, तुलसीपुरका कानुन तथा व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरूले शनिबार दङिशरण गाउँपालिका–४ स्थित बैबाङ पुगेर धान रोपाइमा सहभागी हुँदै जीवन उपयोगी सीप सिकेका छन्। ‘मानो रोपेर मुरी फलाउने’ किसानको कर्म नजिकबाट अनुभव गर्न विद्यार्थीहरूलाई सोही गाउँका कृषक लक्ष्यबहादुर ओलीले खेतमा सहभागी गराएका थिए।
करिब तीन कठ्ठा खेतमा विद्यार्थीहरूले करिब तीन घन्टा काम गर्दै माटोसँग मितेरी गासे। धानको बिउ बेर्नेदेखि रोपाइसम्मको प्रक्रियामा हात हाल्ने अवसर पाएका विद्यार्थीहरूका लागि यो एउटा नयाँ र स्मरणीय अनुभव बन्यो। कानुन विषय अध्ययनरत प्रशंसा केसीले माटोसँग साक्षात्कार गर्दै कृषक जीवनको संघर्ष र महत्त्वलाई नजिकबाट बुझ्न पाएको बताइन्।
“पढाइ मात्र होइन, जीवन बुझ्न पनि यस्ता कार्यक्रम महत्वपूर्ण हुन्छन्,” उनले भनिन्। विद्यालयका प्रधानाध्यापक मधुसूदन केसीका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान अभिवृद्धि गर्दै पेसा र व्यवसायको सम्मानभाव पनि विकास गर्छ। “सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक अनुभव दीर्घकालीन हुन्छ,” उनले बताए। विद्यालयले शिक्षालाई जीवनसँग जोड्न प्रयोगात्मक सिकाइलाई प्राथमिकतामा राख्दै आएको जनाइएको छ।