दाङ : दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशमै ‘स्वस्थ गाउँपालिका मापदण्ड’को रूपमा छनोट हुने पहिलो स्थानीय तह बनेको छ। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार केन्द्र काठमाडौंले दंगीशरण गाउँपालिकालाई उक्त मापदण्डका लागि छनोट गरेको हो।
बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र दंगीशरण गाउँपालिकाको समन्वयमा स्वस्थ गाउँपालिका मापदण्डसम्बन्धी अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले लुम्बिनी प्रदेशमै पहिलो स्वस्थ गाउँपालिकाका रूपमा दंगीशरण छनोट भएकोमा खुसी व्यक्त गर्दै बाँकी सूचकहरू पुरा गर्न मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका प्रमुख वक्ता राष्ट्रिय शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार केन्द्रका शिक्षा प्रशासक अरुण ज्ञवालीका अनुसार अभिमुखिकरणको उद्देश्य स्वस्थ पालिका अवधारणाको बारेमा जानकारी दिनु, मापदण्डको मस्यौदा माथि राय–सुझाव संकलन गर्नु तथा समूहगत कार्य अघि बढाउनु रहेको थियो।
उनले स्वस्थ पालिका मापदण्ड स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूलाई सशक्त बनाउने, स्रोत र साधनको उचित व्यवस्थापन गर्ने, तथ्यमा आधारित निर्णय लिन सहयोग गर्ने र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न महत्त्वपूर्ण हुने बताए।
स्वस्थ गाउँपालिका मापदण्ड अन्तर्गत सातवटा प्रमुख सूचकहरू समावेश रहेका छन् । जसमा समग्र स्वास्थ्य शासन, पालिका स्वास्थ्यमा समता, स्वास्थ्यमैत्री पालिका योजना, स्वस्थ जीवनशैली र सार्वजनिक स्वास्थ्य प्रवर्द्धन, समुदाय र नागरिक सहभागिता, जलवायु परिवर्तन र स्वास्थ्य–उत्थानशीलता, आपतकालीन स्वास्थ्य प्रत्युत्तर हुन् । स्वास्थ्य विभागका प्रशासक गणेश श्रीवास्तवका अनुसार यी सबै सूचकहरूमा पालिकाले उल्लेखनीय प्रगति गरेको छ। अभिमुखिकरण तथा छलफल कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सम्पन्न भएको हो।