जनता मावि बुटनिया : गुणस्तरको प्रतीक बन्दै सामुदायिक विद्यालय

Author Logo..
अनलाइन राप्ती २०८२ असार ५ गते बुधवार

दाङ : दंगीशरण गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालय, बुटनिय, पछिल्लो समय सामुदायिक विद्यालयको सफल र प्रेरणादायी नमुनाका रूपमा स्थापित हुँदै आएको छ। बालविकासदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयमा हाल ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयको खास विशेषता भनेको यहाँ कार्यरत सबै शिक्षक तथा कर्मचारीहरूले आफ्नै छोराछोरी पनि यही विद्यालयमा पढाउँदै आएका छन्, जसले विद्यालयप्रति शिक्षक र अभिभावकको गहिरो विश्वास प्रकट गरेको छ। विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारुको नेतृत्वमा आएको यो परिवर्तन सहज भने थिएन।

शान्तिनगर गाउँपालिका–५ स्थित बैशामा रहेको हात्तीखाल प्राविबाट विद्यालय सहयोगीको रूपमा मासिक एक हजार रुपैयाँ तलबमा सेवा सुरु गरेका थारुले पछि निजी शिक्षकको रूपमा २५ सय तलबमा पढाउन थाले। आठ हजार तलब हुँदा पनि भुक्तानी नपाउँदा पुनः विद्यालय सहयोगीमै फर्कनुपरेको थियो। निरन्तर ९ वर्षको सेवा पश्चात् २०७६ सालमा शिक्षा सेवा आयोगमार्फत स्थायी शिक्षकका रूपमा जनता माविमा नियुक्ति पाए। उक्त वर्ष विद्यालयमा जम्मा ५३ विद्यार्थी थिए, भवनहरू जीर्ण थिए। तर अहिले शैक्षिक सुधारसँगै भौतिक पूर्वाधारमा पनि उल्लेखनीय प्रगति भएको छ।

भवन विस्तार भई बालमैत्री कक्षाकोठाहरू निर्माण भएका छन्। कक्षा ६ सम्म नेपाली र सामाजिक बाहेकका विषयहरू अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ। यद्यपि, शिक्षक अभाव भने विद्यालयको प्रमुख चुनौतीका रूपमा उभिएको छ। एउटै कक्षामा ६० जनासम्म विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता अझै छ। प्रधानाध्यापक थारु गुनासो गर्छन्, “विद्यार्थी भएको विद्यालयमा शिक्षक नपठाइने तर विद्यार्थी नहुने ठाउँमा शिक्षकहरू घाम तापिरहेका छन्। शिक्षा शाखा र गाउँपालिकाले ध्यान दिनुपर्छ।” विद्यालयले कक्षा ११ र १२ सञ्चालन गर्ने योजना बनाए तापनि आवश्यक जनशक्तिको अभावले सम्भव भएको छैन। दुईवटा मात्र शौचालय हुँदा स्वच्छता व्यवस्थापनमा पनि समस्या देखिन्छ।

विद्यालयसँग आफ्नै आयस्रोत र पर्याप्त जग्गा नभएको अवस्थाले थप चुनौती थपेको छ। विद्यालयले विगतका वर्षहरूमा कक्षा ८ र एसएलसी परीक्षामा गाउँपालिकाभित्रकै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। पूर्व प्रधानाध्यापक प्रदिपकुमार देवकोटा भन्छन्, “विद्यालयको सुधार वार्षिक विदासमेत कटाएर कक्षा सञ्चालन गर्ने सबै शिक्षकको समर्पणकै फल हो।”

पुराना जीर्ण संरचना हटाई नयाँ पूर्वाधार निर्माणले पनि विद्यालयको रूप फेरिएको उनको भनाइ छ। १२ वर्षदेखि अध्यापन गराउँदै आएकी शिक्षिका पुजा चौधरीले आफ्ना छोरालाई यही विद्यालयमा पढाउँदै आएको बताउँदै भनिन्, “मैले पैसा नभएर होइन, विश्वासले यो विद्यालय रोजेकी हुँ।” यस्तै, सल्यान घर भई ४ वर्षदेखि यहाँ कार्यरत शिक्षक थलराज केसीले पनि आफ्ना छोरालाई यही विद्यालयमा भर्ना गरेका छन्। “सरकारी विद्यालय पनि निजीभन्दा कम छैन भन्ने उदाहरण हो यो,” केसीले भने। जनता मावि बुटनियले आज प्रमाणित गरिसकेको छ कि सामुदायिक विद्यालय पनि गुणस्तरीय, प्रतिस्पर्धी र प्रभावकारी हुन सक्छन्, यदि समर्पित नेतृत्व र शिक्षकको सामूहिक प्रयास हुन्छ भने।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार