डेङ्गुबाट बच्न  “खोज र नष्ट गर” अभियान शुरु

Author Logo..
अनलाइन राप्ती २०८२ असार ३ गते सोमवार

 दाङ :  तुलसीपुरमा  डेङ्गु रोग नियन्त्रणका लागी पालिका स्तरीय बहस तथा पैरवी कार्यक्रममा सम्पन्न भएको छ ।  सोमबार स्वास्थ्य कार्यालय दाङको आयोजनामा भएको कार्यक्रममा तुलसीपुर पनि डेङ्गु रोगको जोखिम रहेको भन्दै यो रोगबाट बच्न  “खोज र नष्ट गर” अभियान शुरु गरिएको छ  । जिल्लामा  डेङ्गुका बिरामीहरू विस्तारै बढ्दै गइरहेको  स्वास्थ्य कार्यालय दाङका डेङ्गु रोग फोकल पर्सन कमल चन्दले बताए ।  उनका अनुसार विगतको तथ्याङ्कलाई हेर्दा पनि असारदेखि असोजसम्म यसका बिरामी  अत्याधिक मात्रामा बढ्न गरेका छन् । यो वर्ष पनि बिरामीहरू बढ्ने क्रममा रहेका छन् ।

यस्तै उनले डेङ्गु रोग प्रि मनसुन, मनसुन र मनसुनपछिको अवस्थामा यो रोगको बिरामीहरू बढ्ने सम्भावना हुने समेत बताए ।  यस्तै उनले धेरै जोखिम क्षेत्र शहरी क्षेत्र हुने भन्दै यो रोगबाट बच्न  एडिज लामखुट्टेको बासस्थान खोजी गरी लार्भा, प्युपा  “खोज र नष्ट गर” अभियान जिल्लामा  शुरु गरिएको पनि बताए । जिल्लामा यो रोगको बढि जोखिम तुलसीपुर, घोराही र लमही रहेको भन्दै विगतमा पनि यिनै ठाउँबाट धेरै बिरामी भएका थिए , भने बजार उन्मुख  राप्ती गाउँपालिका भालुबाङ, गढवा लगायत ठाउँ पनि उत्तिकै जोखिम रहेको बताए ।   यस्तै यो रोगबाट बच्नको लागि सबै भन्दा पहिला आफ्नो घर वा व्यवसाय गर्ने ठाउँहरू सफा हुनु पर्ने र पानी जम्ने ठाउँ सफा हुनु पर्ने बताए । यो लामखुट्टे पानी जम्ने ठाउँमा बस्ने भएकाले यसमा सबैले ध्यान दिनु पर्ने बताए ।

उनले भने,‘ हेर्दा यो सामान्य जस्तो लाग्छ, तर, आम नागरिकहरूले यसमा ध्यान दिएको देखिँदैन्न, । त्यसैले हामीले विगतदेखि नै “खोज र नष्ट गर” भन्ने अभियान शुरु गर्दै आएका छौँ । यस पटक पनि शुरु गरेका छौँ । तुलसीपुरका निकै जोखिम क्षेत्र मानिएका ५ ठाउँमा यो अभियान शुरु गरेका छौँ । यो अभियान जिल्लाभर नै शुरु गरिएको छ । ’ यस्तै उनले समाजबाट विषादी छर्कन, फगिङ गर्ने जस्ताको माग आइरहने भन्दै त्यसले ठूला लामखुट्टेलाई केही नियन्त्रण गर्ने भएयता पनि जबसम्म लार्भा, प्युपालाइ नष्ट पार्न सकिदैन, तबसम्म यो रोगको जोखिम उच्च हुने समेत बताए । उनका अनुसार यो प्रजातिको लामखुट्टे करिब ३० दिनसम्म बाच्ने र यसले ५ सयदेखि एक हजारसम्म अण्डा पार्ने गर्दछ, भने डेङ्गु सङ्क्रमित लामखुट्टेमा सबै अण्डाहरू सङ्क्रमित हुने र यसका अण्डाहरू पानी विना एक महिनासम्म बाच्न सक्ने समेत उनले बताए ।  

यस्तै यस लामखुट्टेले उज्यालोको समयमा टोक्ने  गरेको समेत बताए ।  यस्तै रोग लागेमा मानिसहरूलाई अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, बेस्सरी टाउको दुख्ने र शरीरमा राता विविराहरु आउने गर्दछ । डेङ्गु एउटा मानिसबाट सोझै अर्को मानिसमा नसर्ने समेत उनले बताए ।  यस्तै  चालु आर्थिक वर्षमा जिल्लामा १० स्थानीय तह मध्य सबै भन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमण देखिएको थियो । जसमा ७८८ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यस्तै घोराही उपमहानगरपालिकामा  ४९१ जना, लमही नगरपालिकामा २४८, राप्ती गाउँपालिकामा ८३ जान,  गढवा गाउँपालिकामा ६९ जना,  दंगीशरण गाउँपालिकामा १९ जना र बबई गाउँपालिकामा  ५ जनामा डेङ्गु सङ्क्रमण भेटिएका थिए  । यस्तै  वंगलाचुली, शान्तिनगर गाउँपालिका , राजपुर गाउँपालिकामा भने डेङ्गु संक्रमितको संख्या शुन्य रहेको फोकल पर्सन चन्दले बताए ।

उनका अनुसार  यो सरकारी अस्पतालमा पुगेका विरामीको मात्रै तथ्यांक भएको तर निजी मेडिकलमा जाँच गरीएको  रिपोट स्वास्थ्य कार्यालयमा नपुग्ने भएकाले अन्य संक्रमितको तथ्यांक समेट्न नसकिएको उनको भनाइ छ ।  यस्तै तुलसीपुरमा सोमबारदेखि “खोज र नष्ट गर” अभियान सुरु भएको छ । उपमहानगरको परिसरमा रहेका खाली वाटा वाल्टी तथा लामखुट्टेले अण्डा पार्न सक्ने ठाउँहरुको खोजी र नष्ट गरी कार्यक्रमको सुभारम्भ गरिएको छ  । असार ७ गते सम्म ५ दिने सचेतनामुलक अभियान सुरु गर्न लागीएको हो ।  एडिज लामखुट्टेको वासस्थान खोजी गरी लार्भा, प्यूपा नष्ट अभियान गर्ने उदेश्यले तुलसीपुर विभिन्न क्षेत्रमा अभियान सुरु गर्न लागीएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम न्यौपानेले बताए ।

आफूहरुले विगत देखि यो कार्यक्रम गर्दै आइरहेको भन्दै तुलसीपुर आर्थिक बर्ष २०७९÷८० मा  २ हजार १८२ जनालाई जाँच गर्दा १९४ जना सङ्क्रमित भेटिएको र ति मध्य १०४ जना महिला र ९० जना पुरुष रहेको उनले बताए  ।  यस्तै आर्थिक बर्ष २०८०/ ८१ मा ३ हजार ७२२ जनालाई जाँच गर्दा  १२४ जना सङ्क्रमित भेटिएका थिए, भने ६३ जना महिला  ६१ जना पुरुष रहेका थिए, भने आर्थिक बर्ष २०८१/ ८२ मा ५ हजार १०१ जनालाई जाँच गर्दा ७८८ जना सङ्क्रमित भेटिएकामा ४०२ जना महिला र ३८६ जना पुरुष रहेका थिए ।  कार्यक्रममा बोल्दै  उपमहानगर  वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारीले यो रोगबाट बच्नको लागि सबै भन्दा पहिला हामीहरुले आफ्नो घर वरपर र व्यवसाय वरपर पानी जम्न नदिए बच्न सकिने बताए । उनले अभियान सफल बनाउन आम नागरिकहरूले साथ दिनु पर्ने बताए ।  उनले भने,‘ उपमहानगरका  जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु मात्र लागेर यस रोगबाट बच्न सकिदैन्,  । सबैले आफ्नो घर वरपर सफा राखे , यसलाई निर्मूल पार्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार