बंगलाचुलीका महिलाहरू हराउँदै गएको संस्कृति बचाउने प्रयासमा

Author Logo..
अनलाइन राप्ती २०८२ जेष्ठ २६ गते शनिवार


दाङ :  बंगलाचुली गाउँपालिका–३ र ४ की महिला दिदीबहिनीहरूले परम्परागत पञ्चेबाजालाई पुनः जीवन दिने उद्देश्यसहित बाजा बजाउन तालिम लिएका छन् । कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध २१ जना महिलाहरू अहिले परम्परागत पञ्चेबाजाको तालमा तालिम लिइरहेका छन्।

गत महिना सुरु भएको ४५ दिने तालिम घरेलु तथा साना उद्योग कार्यालय दाङको सहयोगमा सञ्चालन गरिएको हो। तालिममा १४ वर्षदेखि ६० वर्ष उमेर समूहका महिला सहभागी छन्। तालिमले परम्परागत संस्कृति जोगाउन, महिलाको सशक्तीकरणमा टेवा पुर्‍याउने तथा गाउँघरको सांस्कृतिक पहिचान बलियो बनाउने उद्देश्य राखिएको छ।

तालिमकी सहभागी सुशीला खत्रीका अनुसार सुरुमा बाजा समात्नै गाह्रो लागे पनि अहिले सीप सिक्दै जाँदा सजिलो भएको छ। “पहिला अप्ठ्यारो लाग्थ्यो, अहिले धेरै कुरा बुझ्दै र सिक्दै गएको छु,” उनले भनिन्, “अब हामी आफैं हाम्रो संस्कृति जोगाउनेछौं।”

बंगलाचुली–४ की करिब ६० वर्षीया पुनी गिरी तालिममा सहभागी हुन थालेपछि गाउँका अन्य महिलाहरूलाई पनि हौसला दिन थालेकी छन्। तालिमका प्रशिक्षक दाङ गढवाका विन बहादुर पुनले महिलाहरूलाई पञ्चेबाजाका आधारभूत ताल सिकाइरहेका छन्। बाजा बजाउने अभ्यासमा महिलाहरूको जाँगर देखेर आफू उत्साहित भएको उनले बताए। “पहिला विशेष समुदायको मात्र अभ्यासमा रहेको पञ्चेबाजा अहिले सबैका लागि खुला हुन थालेको छ,” उनले भने, “महिलाहरूको सहभागिता बढेपछि बाजाको संरक्षणमा थप टेवा पुग्नेछ।”

पञ्चेबाजामा ढोल, दमाहा, झ्याली, सानै, नरसिंगा र नाफिरीजस्ता बाजाहरू पर्दछन्। यी बाजाहरू परम्परागत रूपमा विवाह, ब्रतबन्ध, पर्व तथा अन्त्येष्टि जस्ता सामाजिक कार्यहरूमा प्रयोग गरिन्छन्। पछिल्ला वर्षहरूमा आधुनिक संगीत उपकरणको प्रयोग बढ्दै गएपछि गाउँघरमा परम्परागत बाजा हराउँदै गइरहेका छन्।

यसै सन्दर्भमा गाउँपालिकाले पञ्चेबाजाको संरक्षणलाई प्राथमिकतामा राखेको छ। गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरका अनुसार तालिमका लागि बजेट विनियोजन, आवश्यक सामग्रीको व्यवस्थापन तथा अन्य वडामा यस्ता कार्यक्रम विस्तार गर्ने योजना बनाइएको छ। “हामीले बाजा सामग्री खरिद र तालिम निरन्तरताका लागि योजना बनाइरहेका छौं,” उनले भने, “संस्कृति जोगाउनु हाम्रो साझा जिम्मेवारी हो।” सहकारी संस्थाको पहल र घरेलुको सहयोगमा सञ्चालित तालिमले महिला सशक्तीकरणको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ।

स्थानीयस्तरमा यस्ता प्रयासहरूबाट न केवल सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्नेछ, तर महिलाहरूको आत्मविश्वास र सामुदायिक भूमिका पनि बलियो बन्ने विश्लेषण गरिन्छ। अन्य गाउँपालिकाहरूले समेत यस्ता कार्यक्रमलाई पछ्याउने हो ? भने लोपोन्मुख पञ्चेबाजालाई पुनः जीवन दिन सकिने स्थानीय सांस्कृतिक अभियन्ताहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार