दाङ : १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ । घोराही उपविजेता भएको छ । जिल्लास्तरीय प्रतियोगितामा ७६ पदकसहित तुलसीपुरले उपाधि जितेको हो । बेलझुण्डी रङ्गशालामा शनिबार उपाधिका लागि तुलसीपुर र घोराहीका बीचमा फाइनल खेलहरू भएका थिए ।
अघिल्लो संस्करण १४ औं राष्ट्रपति शिल्डमा घोराही विजेता र तुलसीपुर उपविजेता बनेको थियो । बिहीबारदेखि सुरु प्रतियोगितामा तुलसीपुरले कुल ३२ स्वर्ण, २२ रजत र २२ कास्य पदक जितेर प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगिता अन्तरगत घोराही कुल २० स्वर्ण, १६ रजत र १६ कास्य पदक जित्न सफल भयो । प्रतियोगितामा स्थान शान्तिनगर गाउँपालिका तृतीय बन्न सफल भयो ।
उस्ले पाँच स्वर्ण, छ रजत र १४ कास्य पदक जितेको हो । तीन स्वर्ण, दश रजत र आठ कास्यसहित २१ पदक जितेर राप्ती गाउँपालिका चौथो बन्यो । त्यस्तै गढवा गाउँपालिका दुई स्वर्ण, चार रजत र दश कास्य गरि कुल १६ पदक जितेको थियो । बंगलाचुली दुई स्वर्ण, तीन रजत र तीन कास्य गरी आठ पदक जित्दा बबई र राजपुर गाउँपालिकाले समान एक / एक स्वर्ण पदक मात्रै जित्न सके ।
प्रतियोगितामा बबईले एक स्वर्ण र तीन कास्य गरी चार पदक जितेको थियो । राजपुरले एक स्वर्ण र एक रजतसहित दुई पदक जितेको थियो । दंगीशरण र लमही स्वर्ण पदक विहीन बने । लमहीले तीन रजत र १२ कास्य गरी १५ पदक जितेको थियो । सबै भन्दा कम दंगीशरणले तीन कास्य पदक मात्रै जित्न सक्यो ।