चर्चा मै सीमित टरिगाउँ विमानस्थल, अब बन्ने आश छैन् : स्थानीय

Author Logo..
अनलाइन राप्ती २०८२ जेष्ठ १९ गते शनिवार

दाङ :  दाङको तुलसीपुर १२ रहेको टरिगाउँ विमानस्थलको वर्ष बजेट निर्माणको समयमा यो विमानस्थलको स्तरोन्नतिको चर्चा हुन्छ । तर, जब सरकारको बजेट सार्वजनिक हुन्छ, चर्चा समिति मै हुन्छ । हरेक वर्ष आशा मात्र, काम केही नहुँदा अब विश्वास लाग्न छाडेको स्थानीय देवेन्द्र केसीले बताए । आर्थिक वर्ष २०८२/ ८३ को बजेट भाषणमा विस्तार गर्ने कुरा मात्र आउँदा यो जनता झुक्याउने काम भएको उनको भनाइ छ । अहिलेको बजेटबाट दँगाली निकै चिन्तित रहेको भन्दै उनले जिल्लाबाट नेतृत्व गर्ने विभिन्न पार्टीका केन्द्रीयस्तरका नेताहरू हुँदा पनि बजेट यो अवस्थामा आउनु विडम्बना भएको बताए ।

उनले भने,‘ एयरपोर्ट विस्तार गर्ने कुरा मात्र आएको छ । त्यो अब रातो किताबमा कति बजेट पर्छ, त्यसले पनि निर्धारण गर्ला । तर, जुन किसिमको यो पटक चर्चा थियो । त्यो अनुसार भएन , विगतका वर्षहरूमा पनि एयरपोर्टको लागि यस्तै बजेट हुन्थ्यो । तर, काम अहिलेसम्म भएको छैनन् ।’ यस्तै उनले हल्ला मात्र गर्ने र चुनावी नारा मात्र बनाउने गर्दा अब साँच्चिकै दाङबाट केन्द्रमा पुगेका नेताहरू नसच्चिए आउँदो ८४ को निर्वाचनमा नेहरुले नराम्रा नतिजा भोग्नु पर्ने समेत बताए ।

यो वर्ष प्रधानमन्त्रीदेखि काङ्ग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्षसम्म दाङ आए । सबैले एउटै स्वरमा भने,‘ यो वर्ष बजेट छुट्याइन्छ । तर, बजेट भाषणमा विस्तार मात्रै उल्लेख छ । संसद्मा पनि प्रधानमन्त्रीले एयरपोर्टको बारेमा बोलेका थिए, भने दाङमा नेतृत्व गर्ने सांसदहरुले पनि कुरा उठाएका थिए, भने अन्य नेताहरूले पनि यस पटक एयरपोर्टका लागि राम्रै बजेट पर्ने कुरा गरेका थिए । दाङमा एयरपोर्ट भएमा नेपालगन्ज र भैरहवामा असर पुग्ने भएकाले पनि त्यहाँको दबाबले यो एयरपोर्ट बन्न नदिने अर्का स्थानीय डिल्ली बहादुर रावतले बताए । साविक राप्ती अञ्चलका नागरिकहरूलाई यो एयरपोर्ट सहज हुने र मौसम पनि राम्रो हुने हुँदा यो उपयुक्त ठाउँमा रहेको उनले बताए । यस्तै उनले अहिले रहेको एयरपोर्टमा जग्गा धेरै रहेको भन्दै इच्छाशक्ति भए एयरपोर्ट विस्तार हुनेमा कुनै दुई मत नरहेको भन्दै विभिन्न बहानामा यसलाई ओझेलमा पार्न खोजेको बताए ।

यस्तै उनले अहिलेको बजेटमा पनि पहिलेको जस्तै विस्तार गरिन्छ, भन्ने आएको भन्दै यो एयरपोर्ट नबनाउने उद्देश्य रहेको बताए । उनले भने,‘ यदि यो एयरपोर्ट बनाउने इच्छाशक्ति भएको भए बजेट तोकेर नै आउने थियो । देशभरका एयरपोर्ट विस्तारको लागि ५० करोड बजेट छुट्टाइएको छ । त्यो बजेटले कतै पनि एयरपोर्ट बन्दैन । यो हामी जस्ता नागरिकलाई झुक्याउने खेल हो ।’जिल्लामा नेताहरू आउने भाषण गर्ने र आश्वासन दिँदा खुशी लाग्ने भएयता पनि बजेट भाषण सुन्दा अब एयरपोर्टको विकास हुनेमा आफूलाई विश्वास नलागेको अर्का स्थानीय घनश्याम डाँगीले बताए ।

दाङको विकास यो एयरपोर्टसँग जोडिएको भन्दै उनले प्रदेशको राजधानी भएको ठाउँमा एउटा राम्रा एयरपोर्ट नहुनु दुख कुरा भएको बताए । उनले पनि यो एयरपोर्टलाई जिल्लामा रहेका विभिन्न पार्टीहरूले चुनावी एजेण्डा मात्र बनाउने र जनताहरूलाई भ्रम छर्ने काम गर्दै आइरहेको हुँदा अब ८४ मा जनताहरूले नै उनीहरूलाई देखाउन समेत बताए । उनले भने,‘ अब जनताहरूलाई भ्रम छर्ने काम बन्द गर्नुहोस् । तपाईँहरूको कुरालाई अब जनताले पत्याउन छाडे । यस्तै हो रु भने ८४ मा तपाईँहरूलाई जनताले सिध्याउने छन् । ’

यस्तै उनले यस पटक आफूलाई पनि एयरपोर्ट विकासको लागि राम्रै बजेट पर्ने आश लागेको भन्दै बजेटमा विस्तार गर्ने कुरा आउँदा अब यो एयरपोर्ट नबन्ने ठोकुवा गरे । उनले अब यो एयरपोर्टलाई महोत्सव लगाउन स्थलका रुपमा विकास गर्न समेत आग्रह गरे । उनले भने,‘ खाली भ्रमको मात्र खेती भइरहेको छ । बरु यसलाई महोत्सव लगाउन स्थलका रुपमा लगेमा राजश्व आउँछ होला । ’

२०११ सालमा स्थापना भएको यो एयरपोर्ट विकासको पर्खाइमा दशकौं बितिसकेको छ । यसको विकासको लागि साढे ३ अर्ब बढि लाग्ने अनुमान छ । तर, यस पटक बजेट सुनिश्चिता हुनेमा आफूहरू धेरै आशावादी रहेकोमा विस्तार गर्ने भन्दा फेरि पहिले कै जस्तै कुरा आएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले बताए । उनले तराई, पहाड र पश्चिम नेपाललाई जोड्ने सम्भावना बोकेको विमानस्थल राजनीतिक भाषणको विषय मात्र बन्ने र बजेटमा नपर्दा दाङवासीहरूको सपना पूरा कहिले हुन्छ, भन्नेमा प्रश्न खडा भएको बताए । यस्तै उनले अहिले विस्तारको लागि बजेटमा उल्लेख भएको भन्दै अब रातो किताबमा कति बजेट पर्छ, त्यसमा पनि भर पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार