चलचित्र ‘मिरमिरे’को निर्माण घोषणा

Author Logo..
अनलाइन राप्ती २०८२ बैशाख २ गते सोमवार

काठमाडौँ :   चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका छन् । यार्सा फिल्मको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ ।

थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ  फर्किरहेका छन् । सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले सङ्केत गरेको छ । पोस्टरले बिहानीसँगै नयाँ सङ्कल्प गरेको सङ्केत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन ।

चलचित्रको निर्देशन याम शेर्पाले गर्नेछन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेख्नेछन् । निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने चलचित्रलाई आरआर फिल्मले वितरण गर्नेछ । नयाँ वर्ष २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन ।

कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन । केही समयपछि चलचित्रमा कोको कलाकार रहने जानकारी दिँदै जाने निर्देशक शेर्पाले बताए । “हाम्रो चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेर बन्नेछ,” निर्देशक शेर्पाले भने, “कोको कलाकार रहने हामी विस्तारै जानकारी दिँदै जानेछौँ ।” शेर्पाले ‘कार्साङ’मा भएका कमीकमजोरीबाट पाठ सिक्दै दर्शकले खोजे र चाहेज स्तै सिनेमा बनाउने प्रतिबद्धता जनाएका छन् । उनले ‘कार्साङ’मा जस्तै ‘मिरमिरे’मा पनि दर्शकको साथ रहने अपेक्षा गरेका बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार