चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक

Author Logo..
अनलाइन राप्ती २०८१ चैत्र २९ गते शुक्रवार

काठमाडौँ  :  दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत मुख्य कलाकारले स्पेस पाएका छन् । टिजरमा आम नेपाली निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुङ्गो बनाएको दृश्य टिजरमा छ ।काठमाडौंमा गाउँबाट आएर सङ्घर्ष गर्ने आम नेपालीको सङ्घर्षलाई टिजरले प्रतिनिधित्व गरेको छ । पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा साटेको देखाएको टिजरले सामाजिक कथावस्तु सिनेमाले उठाउने प्रष्ट पारेको छ ।

 पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ । पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरमा उल्लेख छ । टिजरमार्फत सिनेमाले गम्भीर कथा भन्ने प्रष्ट पारेको छ । यसअघि निर्माणपक्षले गत बिहीबार चलचित्रका मुख्य कलाकारलाई स्पेस दिँदै तीनवटा पोस्टर सार्वजनिक गरेको थियो ।

 ‘के घर के डेरा स् घर नं २’ जेठ २ मा रिलिज हुँदैछ । चलचित्रमा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज बिष्टलगायत कलाकारको अभिनय छ । चलचित्र एप्पल इन्टरटेनमेन्ट, ए प्लस इन्टरटेनमेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा  ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो । कृष्णबहादुर थापाको सिनेमामा छायाङ्कन रहेको छ । ‘के घर के डेरा स् घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार