दाङ : तुलसीपुर उपमहानगरपालिका ३ भट्टेका किसानहरूले अहिले गड्यौला पालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । करिब ५ वर्ष पहिले स्थानीय कर्ण बहादुर वलीले शुरु गर्नु भएको गड्यौला पालन अहिले गाउँमा ३१ घर बढिले व्यवसायिक गड्यौला पालन गरिएको छ । खेती गर्ने बेला एकातिर रासायनिक मलको अभाव हुने अर्कोतर्फ माटो बिग्रिदै गइरहेको अवस्थामा गड्यौला पालेपछि कम्पोस्ट मलसँगै आर्थिक लाभ पनि हुने हुँदा स्थानीयहरू आकर्षित भएका हुन् । करिब एक वर्षदेखि स्थानीय भीम बहादुर वलीले गड्यौला पाल्न शुरु गरेका हुन् ।
६ किलो प्रतिकिलो १२ सय रुपैयाँको दरले गड्यौला ल्याएर पाल्न शुरु गरेको भन्दै उनले अहिले एक क्युन्टल भन्दा धेरै रहेको बताए । एकातिर कम्पोस्ट मल खेतीबारी प्रयोग गर्दा राम्रो उत्पादन हुने र अर्कोतिर गड्यौला बिक्री गर्दा आम्दानी हुने उनले बताए । उनले भने,‘ गाउँमा शुरुमा पहिला कर्ण बहादुरले ल्याएर शुरु गर्नुभएको थियो । गड्यौलाको मलले खेतबारीमा राम्रो काम गर्दोरहेछ, भन्ने थाहा भएपछि मैले पनि शुरु गरेको हु १ अहिले गड्यौला पालन गर्दा निकै फाइदा हुने कुरा महसुस भएको छ ।
अहिले गाउँभरी नै सबैले पाल्न थालेका छन् । ’ आफूले गड्यौला पालन गर्नको लागि करिब ५० हजार खर्च गरेर संरचना बनाएको भन्दै उनले अहिले मलसँग गड्यौला पनि बिक्री गर्न पाइने हुँदा निकै खुशी लागेको बताए । उनका अनुसार अहिले आफूसँग रहेका गड्यौलाले करिब १० क्युन्टल मल निकाल्ने र त्यो खेतबारीमा पुग्ने छ । विगतमा आफूले रासायनिक मल प्रयोग गर्दै आइरहेको भएयता पनि अब त्यो प्रयोग गर्न नपर्ने समेत बताए । यस्तै उनले अहिले आफूहरू गाउँमा सबैले अर्गानिक खेतीगर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको बताए ।
यस्तै अर्का स्थानीय मस्त बहादुर चन्दलाई पनि कर्ण बहादुरले गड्यौला पाल्दा विश्वास लागेको थिएन । बर्खाको समय जमिनमा प्रसस्त पाइने कीरा पालेर कहिले मल होला , भन्ने उनीलाई मात्र नभइ गाउँका अरुलाई पनि लागेको थियो । तर, कर्ण बहादुरले गड्यौलाबाट मल र गड्यौला बिक्री गरेर राम्रो आम्दानी गर्न थालेपछी ५ / ७ महिना अगाडिदेखि पाल्न शुरु गरेको बताए । ४ वटा बेड बनाए १२ किलो गड्यौला ल्याएर पालेको भन्दै उनले अहिले करिब २ क्युन्टल पुग्न लागेको बताए ।
उनले भने,‘ पहिला गोठभरी गाईगोरुहरू हुन्थे, जसको मल खेतबारीमा प्रयोग गर्दा राम्रो उत्पादन हुने गर्दथ्यो । तर, पछिल्लो समय गाईगोरु पाल्न छाडेपछि खेतीबारीमा रासायनिक मल प्रयोग गर्दा माटो बिग्रिदै गइरहेको छ । यो गड्यौलाको मलले माटोलाई राम्रो बनाउने रहेछ । त्यसैले अहिले गाउँमा सबैले गड्यौला पाल्न शुरु गरेका छौँ ।’
एक वर्षमा ५० लाखको बराबरको बिक्री
शुरुमा आफूले गड्यौला पाल्दा स्थानीयहरूले आफ्नो खिल्ली उडाएको भएयता पनि अहिले गाउँभरी नै गड्यौला पाल्ने काम भइरहेको भट्टे कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका कर्ण बहादुर वलीले बताए । आफूले भर्मी कम्पोस्ट मल, गड्यौला दाङ, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायत जिल्लाहरू बिक्री गर्ने गरेको भन्दै गत वर्ष मात्र मल, गड्यौला , तरकारी गरी ५० लाख बराबरको बिक्री भएको उनले बताए ।
अहिले गड्यौला पालनबाट भर्मी कम्पोस्ट मल उत्पादन हुने र बिक्री पनि हुने हुँदा गाउँमा सबै गड्यौला पालनतर्फ लागेको उनको भनाइ छ । पछिल्लो समय किसानहरू गड्यौला पालनतर्फ आकर्षित भइरहेको भन्दै अहिलेसम्म दाङमा मात्र ३ /४ सय किसानहरूले आफूसँग गड्यौला किनेर लगेको समेत उनले बताए ।
यस्तै अहिले विभिन्न सङ्घसंस्थाहरूले पनि किसानहरूलाई गड्यौला किनेर दिने गरेको उनको भनाइ छ । अहिलेसम्म आफूहरूलाई कृषि ज्ञान केन्द्र दाङ र प्रदेश सरकारबाट सहयोग भइरहेको उनले बताए । पछिल्लो समय किसानहरूले गड्यौला पालेर कम्पोस्ट मल उत्पादन गर्न थालेपछी रासायनिक मल प्रयोगमा कमी हुन थालेको उनले बताए ।
यस्तै अबको ५ वर्षभित्र गाउँमा रासायनिक मल प्रयोग पूर्ण रुपमा विस्थापित गर्ने योजना रहेको पनि बताए । उनले भने,‘ रासायनिक मल प्रयोग गरेर बिग्रिएको माटोमा यो मल पहिलो पटक हाल्दैमा बाली केही राम्रो उत्पादन हुन्छ । तर, ५ वर्षसम्म निरन्तर यो मल प्रयोग गरेपछि मात्र माटो राम्रो हुने र अहिलेको अवस्थामा उत्पादन हुने बालीमा ५० प्रतिशत वृद्धि हुन्छ । यो गड्यौलाको मल निकै राम्रो छ । शुरुमा गड्यौला पाल्दा केही महँगो पर्ने भएयता पनि यसले लामो समय फाइदा हुन्छ ।’
यस्तै उनले एउटा भैँसी पाल्ने किसानले गड्यौला पालेर वर्षमा २ लाखको मल उत्पादन गर्न सक्ने एक बिगाहा जमिनलाई पुग्ने हुँदा रासायनिक मल प्रयोग गर्नु पर्ने समेत बताए । अब यो गड्यौला पालन अभियानलाई स्थानीय सरकारले किसानहरूलाई सहयोग गरेर कम्पोस्ट मलमा आत्मनिर्भर बनाउन पर्ने समेत उनले बताए ।
जिल्लामा माटोमा प्राङ्गारिक पदार्थ घट्दो
जिल्लामा पछिल्लो समय प्राङ्गारिक मल प्रयोग गर्ने क्रम घट्दो हुँदा माटोमा प्राङ्गारिक पदार्थ घट्दो मात्रामा रहेको कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ बाली अधिकृत पिताम्बर बस्नेतले बताए । यस्तै जिल्लामा विस्तारै गड्यौला पालनतर्फ किसानहरू आकर्षित हुँदै गएको समेत उनले बताए ।
अहिले सबै भन्दा धेरै तुलसीपुर ३ मा रहेको भट्टे कृषि सहकारी संस्थामा आवद्ध किसानहरूलाई पाल्दै आइरहेको भन्दै उनले दंगीशरण, राजपुर, राप्ती, गढवा गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकाका किसानहरूले अहिले निकै चासो देखाएको उनले बताए ।
उनले भने,‘ गाईभैँसीको मल तयार हुन कम्तिमा ६ महिनादेखि माथि समय लाग्छ । तर, गड्यौला पालन गरेर काँचो मल दिँदा २ महिना मै तयार हुन्छ । अरु खेरा गइरहेका कुहिने बस्तु, घाँसहरू पनि भर्मी कम्पोस्ट मल बनाउन प्रयोग गर्न सकिन्छ । यसका लागि ठुलो जनशक्तिको आवश्यक पर्दैन, जसका कारण पनि किसानहरू आकर्षित हुनु भएको छ । ’
ज्ञान केन्द्रले पनि यसलाई अहिले प्राथामिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । माटो सुधार कार्यक्रम अन्तर्गत भकारो सुधार, गड्यौला पालनलाई प्राथामिकतामा दिएको उनले बताए । गत वर्ष तुलसीपुर क्षेत्रमा यो कार्यक्रम रहेकोमा यो बर्ष घोराही र राप्ती गाउँपालिकामा फोकस राखेर कार्यक्रम गरेको उनले बताए ।