२ लाख बढि नागरिकले आँखाको स्वास्थ्य उपचार लिए

Author Logo..
अनलाइन राप्ती २०८१ चैत्र १९ गते मङ्गलवार

दाङ :   बितेको १० महिनामा  २ लाख बढि नागरिकहरूले आँखाको स्वास्थ्य उपचारमा ओपिडी  सेवा लिएको नेपाल नेत्रज्योति सङ्घ दाङले जनाएको छ । सङ्घका  अनुसार आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत  सङ्कलित आँखा अस्पतालहरू, आँखा उपचार केन्द्र र  बाह्य कार्यक्रमबाट गरी २०८१ जेठ १ गतेदेखि गत फागुन महिनासम्म २ लाख ३० हजार ८२५ जनाले सेवा लिएका हुन् ।

जसमा राप्ती आँखा अस्पतालबाट ५१ हजार ७३९ जना, लमही आँखा अस्पतालबाट ३१ हजार ३९९ जना, छन्द ( कालेबाबु ) नारायणी आँखा अस्पतालबाट ७० हजार ८६९ जना,  आँखा उपचार केन्द्रहरूबाट २८ हजार ३५१ जना र  बाह्य कार्यक्रमबाट ४८ हजार ४६७ जनाले ओपीडी सेवा लिएको सङ्घ दाङ सचिव घनश्याम सुवेदीले बताए ।  उनका अनुसार विशिष्टीकृत ओपिडी सेवातर्फ रेटिना विभागबाट २ हजार ५४७ जना, कर्निया विभागबाट  १ हजार ६१७ जना, आँखाको सौन्दर्य तथा क्यान्सर विभागबाट ८६२ जना गरी ५ हजार २६ जनाले सेवा लिएका छन् । यस्तै नाक उपचार सेवातर्फ १३ हजार १४४ जनाले सेवा लिएको उनको भनाइ छ  ।

यस्तै सोही अवधिमा १२ हजार ९९६ जनाले मोतिविन्दुको उपचार गरेको उनको भनाइ छ ।  जसमा राप्ती अस्पतालबाट १ हजार ९६२ जना, लमही अस्पतालबाट १ हजार ३३० जना,  छन्द ९ कालेबाबु ० नारायणी आँखा अस्पतालबाट ६ हजार ८७४ जना, आँखा उपचार केन्द्रबाट १ हजार २१९ जनाले सेवा लिएको उनले बताए । यस्तै शल्यक्रिया सेवा अन्तर्गत रेटिना, कर्निया, आँखाको सौन्दर्य तथा क्यान्सर अन्य गरी ५ हजार ३८७ जनाले सेवा लिएको  सचिव सुवेदीले बताए । उनका अनुसार नेपाल नेत्रज्योति सङ्घ २०३४ सालमा स्थापना भएको र सङ्घले हाल देशभर २८ वटा आँखा अस्पतालहरू, १५० बढि आँखा उपचार केन्द्रहरू सञ्चालन गरेर वार्षिक १२ लाख बढि नेत्ररोगीहरूलाई बहिरङ्ग सेवा र करिब ३ लाख बढि नागरिकहरूलाई मोतिविन्दुको शल्यक्रिया गरी उपचार सेवा दिँदै आइरहेको छ ।

सङ्घले सञ्चालन गरेका अस्पतालहरूमा लुम्बिनी प्रदेशका मात्र नभइ भारत र तेस्रो  मुलुकका नागरिकहरू पनि सेवा लिन आउने गरेको उनले बताए । यस्तै आफूहरूले  आँखा उपचार सेवा, नाक, कान घाँटीको सेवा र विभिन्न सचेतना मूलक  कार्यक्रम गर्दै आइरहेको र स्थानीय सरकारसँग साझेदारी कार्यक्रम गर्दै आइरहेको  समेत बताए । स्थानीय सरकारसँग साझेदारी कार्यक्रम गरी निःशुल्क मोतिविन्दुको शल्यक्रिया, आँखा शिविर जस्ता  कार्यक्रम गर्दै आइरहेको समेत उनले बताए । संघले लुम्बिनी प्रदेशमा मात्र नभइ कर्णाली प्रदेशमा पनि आँखा उपचारको सेवा दिँदै आइरहेको उनको भनाइ छ । स्थानीय सरकार,  सङ्घीय सरकार, विदेशी दातृनिकाय, विभिन्न समाजसेवी व्यक्ति लगायतको सहयोगबाट सङ्घले सञ्चालन गर्दै आइरहेका अस्पतालहरूले सेवा दिइरहेका छन् ।

लुम्बिनी प्रदेशमा १।८ प्रतिशत दृष्टिविहीनता दर

राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शम्सेर  थापाका अनुसार लुम्बिनी प्रदेशमा १।८ प्रतिशत दृष्टिविहीनता दर रहेको छ ।  प्रदेशमा  ४८ वटा  आँखा अस्पतालहरू सञ्चालन भइरहेको र ति मध्य ३४ वटा सङ्घले सञ्चालन गरेका अस्पताल  रहेको उनले बताए ।  ७६ प्रतिशत भन्दा बढि दृष्टिविहीन मोतिविन्दुका कारण हुने भन्दै ४१ प्रतिशत भन्दा बढि नागरिकहरू अलिअलि आँखा देखेको छु, दुखेका छैन्, चिलाएको छैन्, अस्पताल किन जानु प¥र्यो भनेर बस्ने गरेको तथ्याङ्कले देखाएको उनले बताए । ३० प्रतिशत भन्दा बढि नागरिकहरूले आर्थिक अभावले उपचार नसक्ने तथ्याङ्क रहेको उनको भनाइ छ ।

यस्तै प्रदेशमा ११ हजार २७३ जना ब्यक्तिहरू अर्थात ६९ हजार ६८९ आँखामा अन्धोपन रहेको तथ्याङ्कले देखाएको उनले बताए । दृष्टि क्षमता कम्जोरमा २३ हजार ६७१ ब्यक्तिहरू अर्थात १ लाख १२ हजार ७३३ आँखाका रहेको उनले बताए ।  तथ्याङ्कले प्रदेशमा सबै भन्दा धेरै रूपन्देही जिल्लामा देखाएको छ । जसमा २ हजार ४६२  व्यक्ति अर्थात १५ हजार २१८ आँखामा अन्धोपन रहेको छ, भने दृष्टि क्षमता कमजोर ५ हजार १४७ जना अर्थात २४ हजार ६१७ आँखामा रहेको छ । यस्तै कपिलवस्तुमा ९ हजार ३४० आँखामा अन्धोपन, कमजोर दृष्टि १५ हजार १०८, दाङमा ९ हजार १९७ आँखामा अन्धोपन, कमजोर दृष्टि  १४ हजार ८७८ आँखामा देखिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

यस्तै बाँकेमा आँखा  अन्धोपन ८ हजार २०६ , कम्जोर दृष्टि १३ हजार २७५, बर्दियामा ६ हजार २६७ आँखा अन्धोपन,  कम्जोर दृष्टि १० हजार १३८ आँखा, नवलपरासी पश्चिममा ५ हजार २४३ आँखा अन्धोपन,  ८ हजार ४८१ आँखा कम्जोरदृष्टि, गुल्मीमा आँखा अन्धोपन ३ हजार ३५७,  ५ हजार ४३० कम्जोरदृष्टि, रोल्पामा आँखा अन्धोपन, ३ हजार २१३, दृष्टि कम्जोर ५ हजार १९७, पाल्पामा  ३ हजार २९७ आँखा अन्धोपन, ५ हजार ३३३ दृष्टि कम्जोर, अर्घाखाँचीमा २ हजार ४१० आँखा अन्धोपन,  ३ हजार ८९८ आँखामा दृष्टिकम्जोर र रुकुम पूर्वमा ७८८ आँखा अन्धोपन,  १ हजार २७५ आँखामा दृष्टिकम्जोर रहेको तथ्यांकलमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार