दाङ : घोराही उपमहानगरपालिकाले कक्षा ८ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । चैत्र ३ गते देखि ११ गते सम्म सञ्चालन भएको कक्षा ८ को परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा कार्यक्रम गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा प्रकाशन गर्दै सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले कुल विद्यार्थी सङ्ख्या ४ हजार ५२६ जना रहेकोमा २ हजार ४४८ जना पास भएका छन् । सामुदायिक तर्फ २१ सय ८१ जनामा ५३४ जना पास भएका छन्, भने २३ सय ४५ जना संस्थागतका विद्यार्थीहरू मध्य १९ सय १४ जना पास भएका छन् ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले शिक्षण सिकाइमा रहेको समस्या पहिचान गर्नका लागि यस बर्ष अन्तर विद्यालय परीक्षा सञ्चालन गरेको र परीक्षामा गरिएको कडाइले यथार्थ नतिजा आएको बताए। अब आगामी वर्ष देखि कक्षा ५ को परीक्षालाई पनि थप व्यवस्थित गर्ने योजना रहेको बताउनुभयो । बाल विकास देखि नै शिक्षण सिकाइमा सुधार र गुणस्तरीयता ल्याउन आवश्यक भएको उनको भनाई छ । सामुदायिक विद्यालयको नतिजा र संस्थागत विद्यालयको नतिजामा सुधार ल्याउनका लागि विद्यालयका प्रअ नै बढी जिम्मेवार र जवाफदेही बन्न आवश्यक रहेको बताए ।
एसईइ परीक्षाको नतिजामा सुधार ल्याउनका लागि यस बर्ष कक्षा ८ को परीक्षा प्रणालीमा कडाइ गरिएको उहाँको भनाई छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले शिक्षामा सुधार ल्याउन गम्भिर छलफल र योजनाको खाँचो औँल्याए । कार्यक्रममा हापुर मावि निधुवारका प्रअ अर्जुन कुमार न्यौपाने, प्याब्सन नगरका अध्यक्ष बालकृष्ण वलीले शिक्षामा सुधार ल्याउन पढाई र परीक्षा प्रणालीमा विषेश ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको सहजिकरण विपना बर्तौलाले गरेका थिए। परीक्षामा कसैलाई चित्त नबुझेको खण्डमा चैत्र १९ देखि २२ गते सम्म निवेदन दिनुपर्ने र १९ गते देखि २५ गते सम्म पूरक परीक्षाका लागि फारम भर्न सकिने सामाजिक विकास महाशाखाले जानकारी दिएको छ ।