पिएम कपमा पुलिस क्लब अपराजित रहँदै फाइनलमा

Author Logo..
छवि पुरी २०८१ चैत्र १२ गते मङ्गलवार

दाङ :  बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौँ जित निकालेको छ । योसँगै पुलिसले यो वर्षको फाइनलमा स्थान सुरक्षित गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएसँगै पुलिसको अपराजित यात्रा कायमै रहेको छ । पुलिसले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेशले सुरुवात राम्रो गरेपनि ललितनारायण राजवंशीको कसिलो बलिङमा कर्णाली २४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटियो ।

मध्यम लक्ष्य पाएपनि कर्णालीलाई आजको जित अपरिहार्य थियो । कर्णालीका लागि रविन्द्र शाहीले राम्रो सुरुवात दिलाए पनि त्यसपछिका खेलाडीले लय पकड्न नसक्दा हार बेहोर्यो । रविन्द्रले ३२ बलमा २ छक्का र ७ चौकाको मद्दतमा ४९ रन जोडेर सागर ढकालको बलमा बोल्ड भए । त्यसपछि अर्जुन घर्तीले पारी उकास्ने कोसिस गरेपनि पुलिसले ३० रनमा पेभेलियन फर्कायो । अर्जुनले ४२ बलमा १ छक्का र ३ चौकाको सहयोगमा ३० रन जोडेर ललितको बलमा क्याच आउट भए । सुनिल धमला २ रन, राज शाह ४ रन, दिपेन्द्र रावत ३ रन, दिनेश अधिकारी १ रन, प्रकाश जैशी १ रन, अनुज चनरा १ रनमा आउट भए ।

ललितले राज शाह, दिपेन्द्र रावत, अर्जुन घर्ती, दिवान पुन, प्रकाश जैशी, दिनेश अधिकारीलाई आउट गर्दै ९ ओभरमा ४१ रन खर्चेर ६ विकेट हात पारे । सागर ढकालले २ विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्यो । जारी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिन सफल ललित प्लेयर अफ द म्याच भए । उनी प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । उनले हालसम्म १०३ विकेट लिइसकेका छन् भने जारी प्रतियोगितामा ८ खेलमा ३६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ३६ रन बनाएर क्याच आउट भए ।

यस्तै, दीलिप नाथले ५९ बलमा २ चौकासहित ३४ रन बनाएर दिवान पुनको बलमा एलबीडब्लू भए । पुलिसका लागि ९ विकेट गएको अवस्थामा श्रवण यादव र सागर ढकालले ३९ रनको साझेदारी गरे मध्यम लक्ष्यमा पुर्याए । अन्तिम विकेटका रुपमा आएका सागर ढकालले अविजित २२ रन जोडे । पुलिसका लागि कुशल भुर्तेलले १ रन, अमित श्रेष्ठ ७ रन, आरिफ शेख २ रन, गुल्सन झा ८ रन, ललित राजवंशी ७ रन, करण केसी ६ रन, श्रवण यादव ११ रन बनाएर आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी पहिलो बलमा बोल्ड भए ।

कर्णालीका लागि अर्जुन चनाराले ४ विकेट लिँदा कप्तान दिवान पुनले ३ विकेट लिए । यसैगरी, दिनेश अधिकारी, दिपेन्द्र रावत, सुनिल धमलाले समान १(१ विकेट लिए । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै नेपाल पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ कर्णाली प्रदेश टीम पाँचौं स्थानमा रहेको छ। अहिलेसम्म ८ खेल खेलीसकेको पुलिस क्लब ८ खेलमा सतप्रतिशत जित निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा रहँदा ९ खेल खेलीसकेको कर्णाली प्रदेश ४ खेलमा जित र ५ खेलमा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ । योसँगै दाङमा १४ खेल सकिएका छन् । अबका बाँकी खेल रुपन्देहीमा हुनेछन् । प्रतियोगिताको फाईनल खेल चैत १६ गते सिद्धार्थ क्रिकेट रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार