दाङ : दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश टीम भिड्दैछन् । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज दुई टीम बीच बिहान ९ बजेपछि खेल शुरु हुनेछ । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अङ्क तालिकाको सातौँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र पुछारमा रहेको कोशी प्रदेश टीम बीच खेल हुन लागेको हो ।
अहिलेसम्म ७ खेल खेलिसकेको सुदूरपश्चिम २ मा जित र ५ मा हार बेहोर्दै ४ अङ्कका साथ सातौँ स्थानमा रहँदा समान ७ खेल खेलिसकेको कोशी प्रदेश १ खेलमा जित र ६ खेलमा लगातार हार बेहोर्दै २ अङ्कका साथ अङ्क तालिकाको दशौँ स्थानमा छ । सुदूरपश्चिम प्रदेशको कप्तानी नारायण जोशीले सम्हालेका छन् भने कोशी प्रदेशको कप्तानी अङ्कित सुवेदीले सम्हालेका छन् । सुदूरपश्चिममा कप्तान जोशीसँगै खडक बोहरा, प्रकाश पाण्डे, निश्चल क्षेत्री, किरण ठगुन्ना, सुनिल चन्द, मिलन बोहरा, शेर मल्ल, हेमन्त धामी, विकास आग्री, सौर्य श्रेष्ठ लगायत खेलाडी छन् ।
कोशी प्रदेशमा कप्तान सुवेदीसँगै चिराग साह, सकिब हक, सुजन थपलिया, सोनु अन्सारी, शुभम् गहतराज, दिपेश कँडेल, भुपाल लुइँटेल, विपिन महतो, श्रवण किस्कु, प्रकाश कार्की लगायत खेलाडी छन् । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रूपन्देहीका र दाङमा प्रतियोगिता खालीरहेका छन् ।
राउन्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ । तीन खेल मैदानमा भइरहेकोले प्रतियोगिता अन्तरगत रूपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा शनिबारसम्म ३४ वटा खेल भइसकेका छन् । यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत ११ गते वाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ