दाङ : भारतको गोवामा १० वर्षसम्म सेफको रूपमा काम गरेका शान्तिनगर गाउँपालिका २ पेदाका राम बहादुर घर्तीले स्वदेश फर्केर तुलसीपुरमा ‘रोयल फुड किचेन एन्ड रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन । स्वदेशमै आयआर्जन गर्ने लक्ष्यसहित उनले बीपी चोकमा करिब ४० लाख रुपैयाँको लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन ।‘रेस्टुरेन्टमा ग्राहकहरूको विशेष रोजाइमा ‘ नाग्लो सेट’ रहेको छ, ’ उनले भने–‘ जसमा २० देखि २५ परिकार समावेश छन् । यसको मूल्य १,५०० देखि ४,००० रुपैयाँसम्म पर्छ ।’
उनका अनुसार जापानी खाना सुसी, तन्दुरी फीस, कबाफ, मटन लेमचप, मोजीतो र क्रिस्पी अमेरिकन कन जस्ता विभिन्न परिकारहरू पाइन्छ । रेस्टुरेन्टमा नेपाली मात्र नभई चिनियाँ नागरिकहरू समेत आउने गरेको सञ्चालक घर्तीले बताए । उनका अनुसार मासिक ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । व्यवसाय सञ्चालनसँगै प्रत्येक शनिबार साङ्गीतिक कार्यक्रमको आयोजना हुने र अनलाइन डेलिभरी सेवासमेत उपलब्ध गराइएको छ । भारतको लामो अनुभवलाई स्वदेशमै उपयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको उनले बताए ।