विद्युतको पर्खाइमा बेलमती

Author Logo..
अनलाइन राप्ती २०८१ चैत्र ८ गते शुक्रवार

दाङ :  शान्तिनगर  गाउँपालिका ७ बुडाडाबरकी ६५ वर्षीया बेलमती वली घरमा एक्लै छन् । घरमा एक्लै भएपछि उनले आफ्नो मन भुलाउनको लागि एउटा मोबाइल किनिन्, तर त्यहि मोबाइल चार्ज गर्नको लागि घरमा विद्युत नहुँदा त्यतिकै थन्किएको छ । गाउँमा सबैको घरमा विद्युत झलमल भएयता पनि उनका घरमा अहिलेसम्म पुगेको छैन् । उनले विद्युतको लागि पटक पटक पहल गर्दै आएको भएयता पनि अहिलेसम्म कसैले सुनेको छैन्।

जसले गर्दा पनि गाउँपालिका कै सुगम वडा मानिने बेलमतीले अहिलेसम्म घरमा विद्युत पाल्न नपाउँदा निकै दुखको कुरा हो । स्थानीयहरुका अनुसार अहिलेसम्म उनले घरमा विद्युत नहुँदा कहिले कता कहिले कता लगेर मोवाइल चार्ज गर्ने गरेकी छन् । घरमा विद्युत नहुँदा उनी अहिलेसम्म अन्धकारमै बसेको उनीहरुको भनाइ छ । एउटा सानो टुक्कीको भरमा अहिलेसम्म उनी त्यो घरमा बस्दै आएको छिमेकी बताउँछन् ।

गाउँमा विद्युत आउँन लाग्दा सबै गाउँलेहरुले पैसा उठाएर दिने बेला बेलमतीले पैसा दिएको भएयता पनि उनका घरमा अहिलेसम्म विद्युत नपुगेको छिमेकीको भनाइ छ । आफ्नो घरसम्म बत्ती ल्याउनको लागि बढिमा २ वटा विद्युतको पोल लाग्ने रहेको भन्दै आफू जस्ता दुखी गरिबको लागि कसैले नहेर्ने गरेको गुनासो गरिन् । उनले भनिन्,‘ पहिलाका वडाध्यक्षलाई पनि मैले मेरो घरमा विद्युत ल्याइदिन पटक पटक आग्रह गरे ।

उनको कार्यकाल सकियो, तर, विद्युत आएन् । फेरि चुनाव भयो, नेताहरु भोट माग्न आए, मैले मेरो समस्या सुनाए । जितेपछि विद्युत घरमा ल्याइदिने कुरा गरे, तर, अहिले ३ बर्ष हुन लाग्दा पनि आएको छैनन् । ’ यस्तै उनले आफ्ना अरु जे जस्ता दुख भएपछि त्यो अहिलेसम्म भोग्दै आएको भन्दै घरमा विद्युत नहुँदा निकै समस्या भोग्दै आएको बताइन् ।

उनले भनिन्,‘ गाउघरका सबैका घर झिलिमिली हुँदा आफ्नो घर अन्धकार हुन्छ । गाउँमा ३०/ ३५ बर्ष पहिले नै विद्युत आएको थियो । तर, अहिलेसम्म मेरो घर अन्धकार नै छ । घरमा विद्युत बाल्न नपाएर मरिन्छ, की भन्ने चिन्ता लाग्छ । हामीलाई भोट माग्ने बेला मात्र सम्झिन्छन् । सोझा मान्छेको त अहिलेको जमानामा कुनै काम रहेनछ ।’ यस्तै उनले अहिलेका वडाध्यक्ष घर र आफ्नो घर नजिकै रहेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार