दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन सक्रियता बढाएका छन् । कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानीकर्ताको खोजी गर्न मुख्यमन्त्री आचार्यले दातृ निकायहरूका प्रतिनिधिसँगको भेट र छलफललाई प्राथमिकतामा राखेका छन् । यहीक्रममा बेलायती दूतावासकी सहायक राजदूत तथा डेभलपमेन्ट निर्देशक पिप्पा बर्ड र अमेरिकी विकास नियोगका नेपाल प्रतिनिधि केटी डोनोहो सहितको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यसँग सोमवार शिष्टाचार भेटवार्ता गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।
प्रदेश सरकारले अघि बढाएका नीति तथा कार्यक्रमका आधारमा दातृ निकायका प्रतिनिधि तथा लगानीकर्ताहरु पनि लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर अघि बढेको पाइएको छ । सो क्रममा लुम्बिनी प्रदेशको प्राथमिकताका क्षेत्रको बारेमा समेत अन्तरक्रिया गरिएको थियो । मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि र विकासलाई अघि बढाउन प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरूमा दातृ निकायहरूसँग सहकार्य गरेर अघि जान सकिने बताए । लुम्बिनी प्रदेशले दोस्रो आवधिक योजनालाई अन्तिम अवस्थामा पु¥याएको, तथ्याङ्कको आधारमा योजना तथा नीति निर्माणको काम अघि बढेको, डाटा पोर्टल स्थापना गरेर त्यसलाई प्रयोगमा ल्याएको बारेमा भेटको क्रममा जानकारी दिए ।
सो अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लिराज अर्यालले प्रदेशको समृद्धि र विकाससँग जोडिएका विषयहरूको बारेमा प्रकाश पारेका थिए । प्रदेश सरकारले कृषि, पर्यटन , उद्योग र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर दोस्रो आवधिक योजना निर्माण गरिरहेको समेत जानकारी गराइएको थियो । सो भेट तथा अन्तरक्रियामा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तिमगर, प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव लगायत सम्बद्ध पक्षहरूको सहभागिता थियो ।