दाङ : दाङको तुलसीपुर स्थित हिमाल एकेडेमीमा संयुक्त राष्ट्र सङ्घको संसदीय नमुना अभ्यास कार्यक्रम सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाण्डेले कसैलाई विभेद गर्नु हुँदैन भन्ने संयुक्त राष्ट्र सङ्घको मान्यतालाई नेपालमा पनि लागू गर्नु आवश्यक रहेको बताए । उनले जन्म तथा लिङ्गका आधारमा, कसैलाई पनि विभेद गर्नुहुँदैन, सबैलाई समान रुपमा लिनुपर्छ भन्ने राष्ट्र सङ्घको मान्यतालाई विश्वका सबै देश र नागरिकले आत्मसात गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको प्रभाव विश्व पारिस्थितिकीय प्रणालीमा परिरहेकाले विश्वमै पृथ्वीको तापमान बढिरहेको भन्दै यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताए।
यदि यसको न्यूनिकरण तर्फ ध्यान नदिएमा र विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन रोक्न नसके एक दिन मानव जाती लगायत जीवित प्राणी सङ्कटमा पर्ने बताए । यस्तै कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका ६ का वडा अध्यक्ष दुजमान भण्डारीले विद्यार्थीहरूलाई भविष्यमा सधैँ राम्रा मान्छेको सङ्गतमा लाग्न आग्रह गरे ।
अन्जानमा नराम्रो व्यक्तिको सङ्गतमा लागे उसलाई सुधार्ने प्रयास गर्ने र सुधार्न नसकेमा उसको सङ्गत नै गर्न छोडेमा आफू पनि बिग्रिनबाट जोगिने बताए । यस्तै मानव अधिकारकर्मी सुशील बस्नेतले संयुक्त राष्ट्र सङ्घको आफ्नै अभ्यास, प्रणाली, नीतिनियम छ त्यसलाई आत्मसाथ गरेमा नयाँ कुरा सिक्न सकिने बताए । नयाँ नयाँ अभ्यास गर्दै र सिक्दै जाने हो ? भने एक दिन समाज रूपान्तरण गर्नमा सहयोग पुग्ने बताए ।
तुलसीपुरलाई शान्त र सुन्दर बनाउँदै जिल्लाका अन्य पालिका हुँदै पूर्ण जिल्ला नै शान्त र सुन्दर हुनेछ भन्ने विश्वास व्यक्त गरे । विद्यालयमा संयुक्त राष्ट्र सङ्घको अभ्यास विद्यार्थीहरूलाई तीन दिनसम्म गराइने भएको छ । कक्षा ११ कानुन सङ्कायमा विद्यार्थी प्रशंसा केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक मधुसुदन केसी, धन्यवाद ज्ञापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनय कुमार मिश्र र सहजिकरण शिक्षक नवीन कुमार पराजुलीले गरेका थिए ।