दाङ : तुलसीपुर क्षेत्रबाट प्रहरीले दुई लाख मूल्य बराबरको पटाका जफतपछि नष्ट गरेको छ । तुलसीपुर उपमहानगरपालिका – ५ का वडा सदस्य भिमबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव केशवराज केसी लगायतको उपस्थितिमा इलाका प्रहरी कार्यालय तुलसीपुरले बिभिन्न समयमा बरामद गरेको दुई लाख मूल्य बराबरको पटाका नष्ट गरेको हो ।
इप्रका परिसरमै बरामद पटाकाहरू खाडल खनी पानी हाले पछि माथिबाट माटोले पुरिएको थियो । इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर बजारका साथै प्रहरी पोष्ट दमारगाउँ चेकजाँचका क्रममा हप्ता दिनको अवधिमा ती पटाकाहरू बरामद गरेको जानकारी दिएका थिए ।
पटाका पड्काउँदा बालबालिका अङ्गभङग हुनुका साथै मृत्युसमेत हुन सक्ने हुँदा ती नियन्त्रणमा लिनु परेको प्रहरी निरीक्षक थापाले बताए । पटाका पड्काउँदा आगलागीका घटनासमेत हुन सक्ने हुँदा हरेक अभिभावले आफ्ना बालबालिकालाई पटाका तथा भुइँचम्पा जस्ता ज्वलनशील बस्तुहरू पड्काउन नदिन प्रहरी निरीक्षक थापाले आग्रहपनि गरेका थिए ।