दाङ : दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले निजीक्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए । बिहीबार तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लम्सालले जिल्लाको शान्ति सुरक्षा, सुशासन र विकासका सन्दर्भमा अडिग रहेर कार्य सम्पादन गर्ने बताए । उनले निजी क्षेत्रको सहकार्यबाट राज्यलाई अर्थतन्त्र चलायमान गराउन मदत पुगिरहेको बताए ।
राज्यले व्यवसायीहरूको सुरक्षा, प्रबर्द्धन र व्यवस्थापनमा प्रमुख प्राथमिकतामा राखेको समेत प्रष्ट पारे । उनले सेवाग्राहीको सहजताका लागि कार्यालयमा आफूले हेल्पडेस्क स्थापना गरेर कामलाई छिटो छरितो बनाउन लागिपरेको जानकारी दिए । सङ्घका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन प्रसाद तिमिलसिनाले प्रहरी एक्लैले केही गर्न नसक्ने बताए ।
उनले शान्ति सुरक्षा कायम गर्न जनतासँग सहकार्य गर्न आवश्यक रहेको बताए । जिल्लामा हुने लागूऔषध ,गुण्डागर्दी र अपराध रोक्न दाङ प्रहरी सक्षम रहेको बताए । उनले जिल्लामा चाडपर्व सुरक्षा योजना लागू भैसकेको भन्दै कहीँ कतै केही परेको समयमा तत्काल नजिकको प्रहरीलाई खबर गर्न समेत आग्रह गरे ।
एसपी तिमिल्सिनाले राजमार्ग सुरक्षा देखि यात्रुबाहक सवारीका साधनहरू चेकजाँचलाई कडाइ गर्न निर्देशन भैसकेको बताए । सो अवसरमा सङ्घका पूर्व अध्यक्ष विमल रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल सिंह ठकुरि ,नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख शिव गोशाली लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । उपाध्यक्ष विश्व बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिव केशवराज केसीले गरेका थिए ।