राप्ती प्रादेशिकमा १४ वटा डाइलासिस मेसिनहरू मध्य ८ वटा मात्र सञ्चालन
दाङ : सल्यान घर भइ हाल तुलसीपुर बस्दै आएका बालाराम थापाले गत मंसिर महिनादेखि अस्पतालमा डाइलासिस गराउँदै आएको बताए । अहिलेसम्म हप्ताको २ पटक मात्र डाइलासिस गराउँदै आएको थिए । उनलाई अब हप्तामा ३ पटक डाइलासिस गर्न चिकित्सकले भनेका छन् । अस्पतालमा मेसिनहरू बिग्रिदै गएको र सेवा लिन बिरामीहरू बढ्दै गएपछि ३ पटक सेवा लिन समस्या हुने उनको भनाइ छ । उनले अहिले अस्पतालमा भएका मेसिनहरु मध्य ६ वटा बिग्रिएका छन्, रे अब कसरी सेवा लिने समस्या भएको छ ।
यस्तै मेसिनहरु बिग्रिँदै गइरहेको र बिरामीहरु बढ्दै गइरहेको अवस्थामा राज्यले कि मेसिनहरु बनाउनु पर्छ, कि नयाँ मेसिनहरु थप गर्नु पर्ने समेत उनले बताए । उनले भने,‘ हामी निम्म आर्थिक भएका ब्यक्तिहरु बाहिर निजी अस्पतालमा उपचार गर्न जान सक्दैनौँ । सरकारी अस्पतालमा आउँदा पालो नै आउँदैन्, । बाच्न नै समस्या हुने भयो ।’
अस्पतालमा रहेका १४ वटा डाइलासिस मेसिनहरू मध्य अहिले ६ वटा बिग्रिएका छन्, भने ८ वटा मेसिनहरूले मात्र काम गरेका छन् । अस्पतालमा डाइलासिस सेवा लिन अहिले ७० जनाले सेवा लिइरहेका छन्, भने ३० जना पालो कुरेर बसेका छन् । अहिले दिनमा ३ सिफ्टमा बिरामीहरूलाई सेवा दिँदै आइरहेको भएयता पनि मेसिनहरू केही महिनादेखि बिग्रिँदा सेवा दिन समस्या भएको डाइलासिस वार्ड इन्चार्ज लिना भडेलले बताइन् ।
मेसिनहरुको कारण हप्तामा ३ पटक डाइलासिस गर्ने बिरामीहरूलाई २ पटक दिने गरेको र अहिले ३० जना बिरामीहरू पालोमा रहेको उनको भनाइ छ । उनका अनुसार ६ बिग्रिएका वटा मध्य ५ वटा मेसिनहरु बन्न नसक्ने र एउटा बन्न सक्ने अवस्थामा रहेका छन् । मेसिनहरु बिग्रिएपछि इञ्जिनियरहरु आएर चेकजाँच गरेको र उनीहरुले ५ वटा नबन्ने बताएको उनले बताइन् ।
यस्तै उनले अब मेसिनहरु नबन्दासम्म र थप नहुँदासम्म पालोमा बसेकाहरुले सेवा पाउन गाह्रो रहेको समेत बताइन् । उनले भनिन्,‘ मिर्गाैलाका बिरामीहरुले डाइलासिस बाञ्चुजेल गर्नु पर्ने हुन्छ । कि उहाँहरुले मिर्गाैला प्रत्यारोपण गर्नु पर्छ, होइन भने बाचुञ्जेलसम्म गर्नु पर्ने हुन्छ । अहिलेको सेसिनबाट उहाँहरुको पाला आउने सम्भावना नै हुँदैन् । ’ उनका अनुसार एउटा बिरामीले एउटा मेनिस सफा गरेर सेवा दिँदा कम्तिमा ५ घन्टा समय लाग्छ ।
अस्पतालमा डाइलासिस मेसिन थपका लागि प्रदेशको स्वास्थ्य मन्त्रालय माग गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए ।
केहिदिन अघिमा मात्र सङ्घीय स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा समाजिक सेवा विभागबाट डाइलासिस मेसिनको अवस्था र आवश्यकताको बारेमा पत्र आएको र थप ५ वटा नयाँ मेसिनको माग गरेको उनको भनाइ छ । उनका अनुसार २०७६ सालदेखि २ वटा मेसिनबाट शुरु भएको डाइलासिस सेवामा अहिले १४ वटा मेसिनहरु रहेका छन् । ति मध्य अहिले ८ वटाले सेवा दिइरहेका छन् ।
यस्तै पहिलोको तुलनामा अहिले बिरामीहरुको चाप घटेको समेत उनले बताए । विगतमा बिरामीहरुमो चाप धेरै थियो । पालोको लागि पनि धेरै बिरामीहरु थिए । तर, अहिले ३० जना जति रहेका छन्, भने ७० जनाले सेवा लिइरहेका छन् । उनका अनुसार अहिले अस्पतालमा भएका मेसिनहरु विभिन्न ३ कम्पनीका रहेको र कुनै कम्पनीको अलि छिट्टो बिग्रिने गरेको भनेर डाइलासिसका कर्मचारीहरुले भन्ने गरेका छन् ।
यस्तै उनले मेसिनमा सामान्य समस्या आएपनि दक्ष इञ्जिनियर नहुँदा समस्या हुने गरेको समेत बताए । उनले भने,‘ डाइलासिसका कर्मचारीहरुले मेसिनमा सामान्य समस्या आएपनि खासै थाहा हुँदैन् । उहाँहरु भनेको बिरामीहरुको सेवा दिने हो । तर, मेसिनको बारेमा जानकारी हुँदैन् । अस्पतालमा दक्ष इञ्जिनियरको आवश्यकता छ । तर, हामीले यहाँका एक जना इलेक्ट्रिसियनलाई काठमाडौँ पठाएर एक महिनाको सामान्य तालिम लिन लगाएका छौँ । उहाँले नै सामान्य हेर्नुहुन्छ । ठुलो समस्या भएमा हामीले प्रदेश मन्त्रालय र मेसिन पठाउन कम्पनीबाट इञ्जिनियर बोलाएर देखाउने गरेका छौँ ।’