दाङ : नेकपा ( माओवादी केन्द्र ) शान्तिनगर दाङ विभिन्न माग राखेर ५ बुँदे ज्ञापन पत्र शान्तिनगर गाउँपालिकालाई बुझाएको छ । गाउँपालिका, कार्यपालिकाले लापरबाही र विवादास्पद निर्णयहरू गरेको भन्दै पार्टीले ति निर्णयहरू कार्यान्वयन नगर्नको लागि ज्ञापन पत्र बुझाएको हो । नेपालको संविधान, सङ्घीय ऐन, कार्यविधि विपरित स्थानीय तहले निर्णय गर्ने ऐन तथा कार्यविधि बनाउने, सङ्घ र प्रदेशको आर्थिक नीति विपरित काम गर्ने , कर्मचारीलाई कानुन विपरित काम गर्नको लागि अनावश्यक दवाव दिने जस्ता कार्य भएको हुँदा पार्टीको गम्भिर ध्यानाकर्षण भएको बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै पार्टीले विवादास्पद काम नगर्न , बाझिने प्रकारको ऐन, नियम नबनाउन र बनेकालाई खारेज गर्न, जनताको काममा ढिलासुस्ती नगर्नको लागि पार्टीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतलाई ५ बुँदे ज्ञापन पत्र बुझाएको पार्टीका शान्तिनगर गाउँपालिका अध्यक्ष नेब बहादुर रोकाले जानकारी दिए । यस्तै उनले आफूहरूको मागलाई वेवास्ता गरेमा कानुनी रुपमा र सडक सङ्घर्षको रुपमा आन्दोलन गर्ने समेत जानकारी दिए । सङ्घीय शिक्षा ऐन विपरित गाउँपालिकाबाट २०८१ बैशाख ३० गते पारित भएको शिक्षक दरबन्दी ( मिलान तथा सरुवा व्यवस्थापन ) कार्यविधि २०८१ ले विद्यालय व्यवस्थापन समितिको सम्पूर्ण अधिकारी कुण्ठित गरी सम्पूर्ण शिक्षा अधिकार कार्यविधि अध्यक्षमा निहित गर्ने, अध्यक्षलाई निरङ्कुश बनाउने दिर्घकालीन महत्वको कार्यविधि तुरुन्त खारेज गर्न माग गरिएको छ ।
यस्तै २०८० / ८१ मा गाउँपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको टेन्डर समयमा नखोल्दा, अमानतमा रसिद नकाटी छरुवा छोड्नाले ठूलो अनियमितता भएको र लाखौँ राजस्व गाउँपालिकाले गुमाएको भन्दै समय मै टेन्डर खोल्न र यदि टेन्डर नखोलेको अवस्थामा कर्मचारी खटाइ रसिद काटेर राजश्व उठान माग गरेको छ । यस्तै आएको जनतालाई टिन बाँड्नको लागि आर्थिक वर्ष २०८० / ८१ को सङ्घीय बजेटबाट आएको ८० लाख रकम फ्रिज भएको र उक्त रकम पूर्ति गर्नको लागि गाउँपालिकाको अन्य विकासको विनियोजित रकम कटौती गर्न का हुन लागेको भन्दै उक्त कार्यप्रति घोर आपत्ति प्रकट गर्दै यस्ता लापरबाही नगर्न समेत आग्रह गरिएको छ ।
यस्तै सरस्वतीमा आधारभूत विद्यालय बाघखोर शान्तिनगर १ को राहत दरबन्दी काटेर गाउँपालिकाले हठात् रुपमा अन्यत्र पठाउने काम गरेको भन्दै उक्त दरबन्दी साविक विद्यालयमा राख्न समेत माग गरिएको छ । यस्तै कर्मचारी तथा शिक्षकलाई नियम कानुन विपरित कार्य गर्न नलगाउन र पूर्वाग्रह नसाच्न समेत पार्टीले जोडदार रुपमा माग गरेको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र पार्टीकी गाउँपालिका इन्चार्ज राधिका परिवार, पार्टीका गाउँपालिका अध्यक्ष नेब बहादुर रोका, सचिव पिमलाल वली, प्रेम बिक, रुन्द्र देवकोटा, ईश्वरी न्यौपाने, पूर्ण बहादुर वली, देवराज मल्ल, मान बहादुर खड्का, कुमार केसी लगायतको उपस्थितिमा बुझाइएको थियो ।