व्यवसायिक पशुपालन गरौँ’ : नगर प्रमुख खड्का

Author Logo..
अनलाइन राप्ती २०८१ भाद्र १६ गते आइतवार


दाङ :  तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले 
व्यवसायिक रुपमा बाख्रापालन गरी आयआर्जन बढाउनुपर्ने  बताएका छन् ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय तुलसीपुरको आयोजनामा तीन दिने व्यवसायिक बाख्रापालन तालिमको उद्‌घाटन गर्दै यस्तो बताएका हुन् ।  उनले  व्यवसायिक पशुपालन गरी आयआर्जनमा वृद्धि गरेर परिवार र समाजलाई सुखी र खुशी बनाउन लागि पर्नुपर्ने  बताए । उनले   एउटा दुईवटा बाख्रा पालेर व्यवसायिक बाख्रापालन भन्न नसकिने यसलाई विस्तार गर्न सुझाव दिए । 

कार्यक्रममा वित्तीय संस्थाबाट मेहनती असल उद्यमीहरूलाई वित्तीय संस्थाबाट सहयोग नपुगेमा उपमहानगरपालिकाबाट व्यवसाय विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उनले  जनाए ।  उनले वित्तीय संस्थाबाट लिएको कर्जा उचित आयआर्जनमा लगानी गर्न सुझाव दिए । साथै उनले वित्तीय संस्थाबाट लगानी भएको कर्जा सदुपयोगिता वित्तीय संस्थाले नियमित अनुगमन गर्नुपर्ने बताए ।  कार्यक्रमका व्यवस्थापक तथा विशिष्ट अतिथि संस्थाका कोहलपुर क्षेत्रीय कार्यालय प्रबन्धक मीन बहादुर हमालले नेपालमा गरिबी न्यूनीकरण, महिला सशक्तीकरण र स्वरोजगारी सृजना रोजगारीको वृद्धि गर्न आर्थिक समृद्धिको लागि लघु उद्यमीलाई विकास गर्न र एक परिवारमा एकजना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको बताए ।

संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको र यस संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको उनले  बताए । शाखा कार्यालय तुलसीपुरका शाखा प्रमुख धर्मराज बस्यालले सिकेको सीपलाई व्यवहार लागू गरेमा आर्थिक आयआर्जनमा टेवा पुर्याउन सहयोग मिल्ने बताए । उनले १८ देखि ७० वर्षका महिलाहरूलाई समूहमा आवद्ध गराई संस्थाले विभिन्न आयआर्जनमूलक क्षेत्रमा लगानी गरेको बताए । संस्थाका लेखापाल प्रेम बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी डिल्ली भण्डारीले गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने बाख्रापालन तालिमको प्रशिक्षकमा सुदाम भट्ट र प्रेम घर्ती मगर रहेका छन् । तालिममा संस्थाका विभिन्न केन्द्रका ३८ जना महिला सदस्यहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार