दाङ : लामो संघर्षपछि शान्तिनगर गाउँपालिकाको कार्यालय सरेको छ । हाल कार्यालय रहेको चिराघाटबाट शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलामा गाउँपालिका कार्यालय आइतबार सरेको हो । गाउँपालिका चिराघाटमा हुँदा फोनको नेटवर्क समस्या र सबैलाई पायक पर्ने ठाउँमा नहुँदा लगायत विभिन्न समस्या भोग्दै आएका नागरिकहरूले भने जुम्लेकुलामा गाउँपालिका सरेपछि स्थानीयहरु पनि खुशी भएका छन् । गाउँपालिका सार्ने विषयमा पटक पटक विवाद हुँदा अहिलेसम्म सरेको थिएन । गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार गाउँपालिकाको कार्यालय आइतबार जुम्लेकुलामा सारिएको हो ।
अहिले सरकारी भवनबाट सेवा दिने र छिट्टै गाउँपालिकाको भवन निर्माण गर्ने समेत उनले बताए । उनले भने,‘ गाउँपालिका कार्यालय सबैलाई पायक पर्ने ठाउँमा नहुँदा निकै समस्या भएको थियो । सार्ने विषयले पनि विवाद हुँदा समस्या भइरहेको थियो । जसका कारण जनप्रतिनिधिले आलोचना खेप्नु परेको थियो ।आजबाट त्यो मुक्त भएको छ । ’उनका अनुसार गत वर्ष गाउँपालिकाको १५ औं गाउँसभा बैठकले गाउँपालिकाको केन्द्र हाल कायम रहेको ठाउँबाट जुम्लेकुला सबै कुराले पायक पर्ने सार्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयका विरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले उक्त मुद्दा गाउँपालिकाको पक्षमा फैसला गरेपछि गाउँपालिका केन्द्र सारिएको उनले बताए ।
उनले भने,‘ हामीले गाउँपालिकाका सबै नागरिकहरूलाई पायक पर्ने ठाउँमा सार्ने कुरा गर्दा मुद्दा खेप्नु परेको थियो । फैसला हाम्रो पक्षमा आएपछि आज सबै खुशी भएका छन् । उनका अनुसार गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् । जसमा १ देखि ३ सम्म पहाडी भूभागमा जोडिएका छन् , भने ४ देखि ७ सम्म समतल भूभागमा रहेको छ । अहिले गाउँपालिका रहेको केन्द्र सबै वडालाई पायक नपर्ने ठाउँमा हुँदा कुनै पनि सेवा लिन जाँदा समस्या भइरहने स्थानीयहरूको गुनासो गर्दै आएको समेत उनले बताए । जुम्लेकुलाका स्थानीयहरूले कुल १५ कठ्ठा जग्गा गाउँपालिकाका लागि निःशुल्क रूपमा उपलब्ध गराएको र केही नेपाल सरकारको स्वामित्व पनि जग्गा रहेको समेत गाउँपालिका अध्यक्ष बस्नेतले बताए ।