पातुखोलामा पुल नहुँदा नागरिकले सास्ती भोग्दै

Author Logo..
अनलाइन राप्ती २०८१ साउन ३१ गते बिहिवार


दाङ :  तुलसीपुर उपमहानगरपालिका ५ बसर्पाकदेखि दक्षिण क्षेत्रका र वडा नं. ९ को अटोभिलेज क्षेत्रका नागरिकहरूलाई पातुखोलामा पुल नहुँदा निकै समस्या भोग्दै आइरहेका छन् । विद्यार्थीदेखि आम नागरिकहरूले वर्षौंदेखि खोलामा पुल नहुँदा जोखिम मोलेर खोला पार गर्ने गरेका छन् । खोला ठूला आएपछि ५ मिनेटमा पुग्ने ठाउँमा आधा घण्टा भन्दा बढि हिँडेर जानु पर्ने बाध्यता रहेको स्थानीय खुम बहादुर कँवरले बताए । उनका अनुसार खोला ठूला आएमा पातुखोलामा रहेको पश्चिम दाङ जोड्ने पक्की पुलबाट जानु पर्ने बाध्यता छ । ५ मिनेटमा पुग्ने ठाउँमा आधा घण्टा लगाएर जानु पर्ने हुन्छ । पुलको लागि आफूहरूले विगतदेखि नै माग गर्दै आइरहेको भएयता पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताए ।

पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीको पहलमा २०७७ सालमा अटोभिलेजदेखि करिब २ सय मिटर उत्तर तर्फ तुलसीपुर ५ र ९ नम्वर वडालाई जोड्ने गरी मल्टि स्पान ट्रस ब्रिज बनाउन सर्भे भएको थियो । ब्रिज निर्माणका लागि करिब ५० लाख लाग्न अनुमान गरिएको थियो । तर, अहिलेसम्म त्यो काम अगाडि बढेको छैन् । वर्षौंदेखि आफूहरूले यस्तै जोखिम मोलेर खोला वारपार गर्ने गरेको ५ की चन्दा गिरीले बताइन् । विद्यार्थीहरूलाई पनि खोला पुल नहुँदा समस्या भइरहेको विद्यार्थी आरएन परियारले बताए । उनी वडा नं. ५ मा बस्छन्, भने पढ्ने स्कुल भने वडा नं. ९ मा रहेको छ । कक्षा १० मा पढ्दै गरेका उनले अहिलेसम्म यसरी नै खोला तरेर विद्यालय जाने गरेको बताए ।

उनले भने,‘ माथिबाट घुमेर जाँदा समय धेरै लाग्छ । यो खोला पारे गरेपछि विद्यालय आइहाल्छ, त्यसैले डराइ डराइ खोला पार गछौँ । हामीले यस्तो समस्या भोग्न लागेको बर्षाै भयो । तर, अहिलेसम्म समस्या उस्तै रहेको छ ।’ तुलसीपुर ५ मा पातुखोला मै रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा वडा नं. ९ बाट ५० ÷ ६० जना विद्यार्थीहरू खोला तरेर आउने गरेको विद्यालयका प्रधानध्यापक मेघराज घिमिरेले बताए । यस ठाउँमा पुल नहुँदा विद्यार्थीहरू मात्र नभइ आम नागरिक र अटोभिलेजमा आउनेलाई समस्या भइरहेको उनको भनाइ छ । पुलको लागि आफूहरूले स्थानीय सरकारसँग पहल गर्दै आइरहेको उनले बताए । विद्यालय स्थापना भएसँगै अहिलेसम्म विद्यार्थीहरुले यस्तै समस्या भोग्दै आएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार