काठमाडौँ : आगामी ३ दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले ३ दिन विषेशगरी राति धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्नेतर्फ सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।
मौसमविद् सञ्जिव अधिकारीले हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका १/२ स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।
मंगलवार दिउँसो देशभरि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। राति भने देशभरि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको १/२ स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधवार देशभर साधारणतया बदली रहनेछ। सो दिन दिउँसो मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बुधवार राति देशभर साधारणतया बदली रहने र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हलुकादेखि मध्यम वर्षा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।