तपाईंको उम्मेदवारी किन ?
हाम्रो उम्मेदवारी व्यवसायीको समस्या समाधानका लागि हो । अहिले आर्थिक मन्दी छ । व्यवसायीहरूलाई घर भाडाको समस्या छ । विभिन्न खालका दोहोरो करको समस्या छ । यी समस्या समाधानका लागि हाम्रो उम्मेदवारी हो । उद्योग वाणिज्य संघ राजनीति गर्ने थलो होइन । नितान्त व्यवसायीहरूको साझा संस्था हो । साझा संस्थामा सबैको प्रतिनिधित्वका लागि पनि हाम्रो उम्मेदवारी हो । यतिमात्रै होइन तुलसीपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्य सेवाको सबलीकरण गर्न, एयरपोर्टको विस्तार गर्न पनि हाम्रो उम्मेदवारी हो । त्यतिमात्रै होइन तीनै तहको सरकारसँग व्यवसायीमैत्री नीति निर्माणमा खबरदारी गर्न र साना, ठूला व्यवसायीहरूको प्रतिनिधित्वका लागि हाम्रो उम्मेदवारी हो ।
यी समस्या सम्बोधन गर्न कार्यक्रम के छन् त ?
आफैले बुझाएको कर अनुसारको सेवा नपाइरहेको अवस्था छ । व्यावसायिक सीप, दक्षताको विकास, आठ प्रतिशतमा लिएको ऋण १८ प्रतिशतसम्म पुग्दा बैंक ऋणकै कारण व्यवसायी पलायन हुने अवस्था आयो, त्यतिबेला पनि हामीले आवाज उठायौ । ब्याजदर केही घटेको छ । यसको निश्चित मापदण्ड लागू गर्नका लागि व्यवसायीका लागि सशक्त भएर लाग्नेछौं । हामीले नीति सुधारका लागि खबरदारी गर्ने, व्यावसायिक सेवाका लागि सरकारसँग समन्वय गर्ने काम गर्नेछौ ।
व्यवसायीको माग मन्दीबाट मुक्ति पाउने हो, के गर्न सकिन्छ त ?
मन्दी राष्ट्रिय समस्या हो । सरकारले नै यस विषयमा केही सोच्नुपर्छ । तर सरकारलाई यो विषयमा गम्भीर बन्न र व्यवसायीहरूमाथि परेको मर्का सम्बोधनका लागि हामीले खबरदारी गर्ने काम गर्छौ । उद्योग वाणिज्य संघले यो समस्या समाधान गर्न सक्दैन तर निरन्तर आवाज उठाउने, व्यवसायीका समस्याप्रति राज्यलाई जिम्मेवार बनाउने काम हाम्रो हो हामी गर्छौ ।
तपाईंको जित्ने आधार के हो ?
पहिलो आधार मतदाता हो । कांग्रेस निकटकै हामी दुईजना अध्यक्ष पदको प्रत्यासी छौं । पार्टीका केही मान्छेले मलाई अन्याय गरे । उपाध्यक्ष भइसकेको मान्छेलाई अध्यक्षका लागि अवसर नदिएर महासचिवलाई अध्यक्ष पदको अवसरका लागि अघि सारे । पार्टीले अन्याय गरे पनि मतदाताले न्याय दिलाउनु हुन्छ भन्ने विश्वास छ । अर्को कुरा उद्योग वाणिज्य संघ राजनीति गर्ने ठाउँ होइन, साझा संस्था हो । म कांग्रेस हुँ, मेरो नेतृत्वमा आठ दल समर्थक व्यवसायी साथीहरू ? यो टिममा हुनुहुन्छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा लगायतका दलहरूले हामीलाई समर्थन गरेकाले साझा संस्थामा सबै आस्था, विचार, साना, ठूला व्यवसायीहरू अटाउनेगरी उम्मेदवारी दिएकाले अर्को जित्ने बलियो आधार छ । अर्को कुरा यो संस्थामा विभिन्न पदमा बसेर चार कार्यकाल गुजारेको अनुभव छ । त्यो अनुभवले व्यवसायीको हितमा काम गर्न सक्छ भन्ने व्यवसायीमा विश्वास छ ।