स्वास्थ्यकर्मीहरू मन बचन कर्मले जनसेवामा समर्पित हुनुपर्छ : ओली

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख २४ गते सोमवार


दाङ :  पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीले स्वास्थ्यकर्मीहरूले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै खुसी, तन्दुरुस्ती भएर मन बचन कर्मले जनसेवामा समर्पित भएर काम गर्नु पर्ने बताइन् । आइतबार नेपाल स्वास्थ्य प्राविधिक संघ दाङको भित्ते पात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै  नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी ओली गोपनीयता पूर्वक जनताको स्वास्थ्यको ख्याल राख्दै समुदायका दूर दराजमा रहेका जनतालाई आधारभूत स्वास्थ्य सेवाको अधिकारको अनुभूति गराउन जागरुक हुनु पर्ने बताइन् । उनले फ्लोरेन्स नाइटिङ्गेलले सेवा दिए जस्तै सेवा दिन तत्पर हुनु पर्ने भन्दै स्वास्थ्य विज्ञानका विषयहरूमा अनिवार्य रुपमा mind fullness techniqueका विधिहरू अन्तर्गत संगीत विद्या पनि समावेश गर्न आगामी दिनमा सरकारलाई आग्रह गर्ने प्रतिवद्धता जाहेर गरिन् । 

यस्तै संघका जिल्ला अध्यक्ष दोर्ण बहादुर ओलीको अध्यक्षतामा बोल्दै  विशिष्ट अतिथि संघका केन्द्रीय सचिव ओम प्रकाश न्यौपानेले यस संघले स्वास्थ्यकर्मीहरूका हक हितका लागि निरन्तर आवाज उठाउने गरेको र सरकारसँग सहकार्य गर्दै जनतालाई आधारभुत स्वास्थ्य सेवा पुर्याउन लागि परेको बताए । उनले  स्वास्थ्यकर्मीका पिर मर्का बुझ्दै  , सुरक्षाको प्रत्याभूति गर्न र सुरक्षित तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न सरकारसँग आग्रह गरेको समेत बताए ।  त्यसै गरी नेपाल स्वास्थ्य कर्मी संघ दाङका अध्यक्ष हरि पुनले सबै स्वास्थ्यकर्मीहरू एकजुट भए मात्र स्वास्थ्यकर्मीका दुःख ,पिर मर्काहरू तथा समस्याहरू समाधान गर्न सजिलो हुने त्यसका लागि सबै स्वास्थ्यकर्मीका संघसंगठनहरू लागि एकीकृत गरी एउटै संगठन बनाउन जोड दिन आग्रह गर्दै संघको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै  सङ्गठनका केन्द्रीय सदस्य विष्णु कुमार गिरि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका केन्द्रीय सदस्य गोपिलाल ओली, नारायण घर्ती, निर्वाचन आयोगका केन्द्रीय सचिव विमल केसी, राष्ट्रिय चिकित्सक संघ दाङका अध्यक्ष डा. पुष्प रिजाल ,सचिव डा. शिशिर पोखरेल लगायत सङ्गठनका पदाधिकारीहरूले शुभकामना व्यक्त गरेका थिए ।  यस्तै कार्यक्रममा अध्यक्ष  ओलीले आगामी वर्षमा दाङ बाटै सबै भिन्न भिन्न संघ सङ्गठनमा रहेका स्वास्थ्य कर्मीलाई एकजुट गराउँदै यस सङ्घमा आवद्ध गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा संघका जिल्ला कमिटीका पदाधिकारी,  नगर कमिटीका पदाधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य वीरबल खड्का लगायत , अस्पताल ,स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, तथा स्वास्थ्य विषयमा अध्ययन गरी रहेका स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रममा दाङ टेक्निकल इन्स्टिच्युटका  स्वास्थ्यकर्मीले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।  संघका केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्ष लक्ष्मी ढकालले स्वागत मन्तव्यबाट  शुरु भएको कार्यक्रमको  सञ्चालन संघका जिल्ला उपाध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार