दाङ : लागूऔषध दुर्व्यसन न्यूनिकरण गर्न तुलसीपुरमा टोल विकास संस्थाका पदाधिकारी र विद्यार्थीलाई अभिभुखिकरण गरिएको छ । बढ्दो लागूऔषध दुर्व्यसन न्यूनिकरणका लागि तुलसीपुर उपमहानगरपालिका ६ का टोल विकास संस्थाका पदाधिकारी र तुलसीपुर ६ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अभिभुखिकरण गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका ६ को सहयोगमा बिजौरीमा रहेको नयाँ पाइला पुनर्स्थापना केन्द्रले कार्यक्रम गरेको हो । केन्द्रका सल्लाहकार सुष्मा लामिछाने गिरीको अध्यक्षतामा अभिभुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारीले भौतिक विकाससँगै मानवीय विकासलाई वडा सरकारले प्राथमिकतामा राखेको बताए ।
भौतिक विकास नियमित हुने प्रक्रिया भएको भन्दै उनले असल समाज निर्माणका लागि बालबालिकालाई असल संस्कार सिकाउन आवश्यक रहेको बताए । उनले घर वरपर भौतिक विकासमा ध्यान दिएरमात्रै नहुने भन्दै बालबालिकालाई शिक्षासँगै असल संस्कार सिकाउन अभिभावकले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष तथा मनोपरामर्श विद् शैलेश शर्माले लागूऔषध दुर्व्यसनका समस्या र निराकरणका उपायबारे प्रशिक्षण गरेका थिए ।
उनले बालबालिकालाई लागूऔषध दुर्व्यसनबाट बचाउन अभिभावक नै चनाखो बन्नुपर्ने बताए । मोटिभेसनल ट्रेनर डिल्ली बस्नेतले सकारात्मक सोच बारे प्रशिक्षण गरेका थिए । लागूऔषध दुर्व्यसनमुक्त समाज निर्माणका लागि निरन्तर समाजमा यस्तै किसिमका कार्यक्रम गरिरहेको नयाँ पाइला पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले बताए ।