दाङ : दाङको तुलसीपुरमा “चलचित्र पत्रकारिताको मूल मर्म, व्यवसायिक पत्रकारिताका लागि सन्चार कर्म” भन्ने मूल नाराका साथ चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्य, तुलसीपुर उपमहानगरपालिकाकाको समन्वय र ज्ञान ज्योति फाउन्डेसन र डिलाइट ग्रुपको सहयोगमा बिहिवारदेखि चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको हो । तीन दिनसम्म चल्ने कार्यशालामा स्क्रिप्ट लेखन, कार्यशाला सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम हुने भएका छन् ।
कार्यशालाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै नगर प्रमुख खड्काले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेर्दा नेपाल साँच्चिकै सुनै सुनको सुन्दर फूलबारी रहेको बताए । नेपाल सुनै सुनको फूलवाली भएपनि त्यसको पहिचान हुन नसकेको र त्यसको प्रवर्द्धन गर्न चुकेको बताए । दाङकै सन्दर्भमा पनि निकै ऐतिहासिक, पौराणिक स्थलहरू भए पनि त्यसको बारेमा सबैले चासो दिए पनि दंगाली हरू ले त्यसप्रति चासो दिन नसकेको बताए ।
दाङको संस्कृति, दाङको जातीय धार्मिक अवस्थाको विकास हुन नसकेको बताए । दाङमा थारू संस्कृति अत्यन्त पुरानो इतिहास बोकेको संस्कृति र थारू राजाले राज गरेकाले त्यसको विशेषता धेरै रहेको मेयर खड्काले बताए । साथै मेयर खड्काले दाङमा पनि तुलसीपुर क्षेत्र दंगीशरण राजादेखि छिल्लीकोट, प्रतावकोट , सुकीकोट, देविस्थान, सरकौराकोट, तुइदाङ, बबईको विशेषतासँग जोडिएकाले यो सम्बन्धी अध्ययन अनुसन्धान गर्न सकेमा चलचित्र पत्रकारिताको क्षेत्र महत्व पूँजी बन्न सक्ने बताए । साथै उनले त्यसको लागि पालिकाका र पत्रकारहरू सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए ।त्यस्तै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटनलाई प्रबर्द्धन गर्न र चलचित्र क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेट बिनियोजन गरिसकेको बताए ।
त्यस्तै चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता केएल पीडितले दाङ जिल्लालाई चलचित्र नगरी बनाउन चाहे पनि त्यसका आधारभुत जनशक्तिको अभाव रहेको बताए । तर चलचित्र क्षेत्रको विकासका लागि दाङका पालिकाले आवश्यक बजेट बिनियोजन गरेर बहुउद्देश्यीय कला घर निर्माण गर्न सकिने बताए । कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामीले सिनेमा पर्यटन प्रवर्द्धनको सशक्त माध्यम भएको भन्दै यसको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार शान्ति प्रियले चलचित्रलाई समृद्ध उद्योग बनाउनका लागी चलचित्र पत्रकारितालाई मर्यादित बनाउनुपर्ने र कार्यशालाले नयाँ बाटो तय गर्ने बताए । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले चलचित्रको समग्र अवस्था सङ्कटमा रहेको तर्क गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार डाक्टर सुदीप गौतमले चलचित्र एउटा सशक्त विद्या भएको र यसले मानिसको जीवन परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । “ सञ्चार ले मान्छेको व्यवहार परिवर्तन गर्छ, उनले भने, चलचित्रमा व्यवहार परिवर्तन जरुरी छ । ”
उनले चलचित्र सामाजिक कुरीति परिवर्तनका लागि महत्त्वपूर्ण विद्या भएको बताए । त्यस्तै प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले नेपाली पत्रकारिता र चलचित्र पत्रकारितालाई कसरी व्यवसायिक बनाउन सकिन्छ भनेर बहस चलाउनु पर्ने बताए । उनले मुलुकलाई आत्मनिर्भर बनाउन चलचित्र क्षेत्रको विकास अपरिहार्य रहेको औँल्याए ।