काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुन संशोधन गरेर सहकारी पीडितलाई न्याय दिने पहल सुरु गरिसकेको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानले मंगलबार इलाम २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अहिले कानुनकै कारण सहकारीका ठगहरुलाई कारबाही गर्न नसकिएको बताए।
आफूले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएर कानुन संशोधन गरी सहकारी पीडितलाई न्याय दिने गरी अघि बढेको लामिछानेको भनाइ छ। अर्काको नाममा सम्पत्ति राख्ने र कानुनबाट उन्मुक्ति पाउनेहरूको सम्पत्ति जफत गरेर पीडितलाई नदिएसम्म आफू राजनीतिबाट नहराउने उनको भनाइ छ।
आफ्नो पार्टी परिणाम ल्याउने गरी काम गर्न सरकारमा गएको उल्लेख गर्दै उनले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताए। डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको सुनाउँदै उनले आफ्नो पार्टीका मन्त्रीहरूले एक सय दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने दाबी पनि गरे।