समुदाय स्तरबाटै लागू औषध नियन्त्रणको सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १० गते सोमवार

दाङ :  लागू औषध दुर्व्यसनी नियन्त्रणमा सरोकारवाला स्थानीय निकायका साथै वडा कार्यालय, टोल र विद्यालय समेतलाई समेटेर प्रभावकारी रूपमा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । समुदाय स्तर बाटै लागू औषध नियन्त्रणको सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने  आइतबार आयोजित एक कार्यक्रमका सहभागीहरूले सुझाव दिएका हुन् । जिल्ला प्रशासन कार्यालय दाङ मार्फत लागू औषध नियन्त्रण शाखा गृह मन्त्रालयले घोराहीमा आयोजना गरेको लागू औषध नियन्त्रण सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले लागू औषध दुर्व्यसनीको संख्या विगतको तुलनामा बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।

त्यस अवसरमा गृह मन्त्रालयका उपसचिव एवं लागू औषध नियन्त्रण शाखाका शाखा अधिकृत महेश कुमार गुरुङले देशैभर लागू औषध प्रयोगकर्ताको तथ्यांकमा साथै, नियन्त्रणका उपाय, विद्यमान राष्ट्रिय नीति तथा थालिएका प्रयासहरूका विषयमा जानकारी गराए को थि  । उपसचिव गुरुङले नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार देशैभर गाँजाजन्य पदार्थको प्रयोगकर्ता  सबैभन्दा बढी ८०. ४ प्रतिशत रहेको जानकारी दिए । भारतसँगको खुला सिमा नाकाका कारण भारतबाट नै लागू औषध ओसारपसार हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कार्यक्रममा लागू औषध ओसारपसारमा वास्तविक कारोबारी वा लागू औषध प्रयोगकर्ता नभई ज्यालादारी मजदुरको प्रयोग हुने गरेको दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । प्रहरी उपरीक्षक केसीले जिल्लामा लागू औषध नियन्त्रणका सन्दर्भमा गरिएका प्रयासहरूको बारेमा जानकारी दिए  ।

उनका अनुसार दाङमा चालू आर्थिक  २०८०/ ८१ मा लागू औषध सम्बन्धी ३९ मुद्दा दर्ता भएकोमा ३० वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने बाँकी अनुसन्धानका क्रममा रहेका छन् । गृह मन्त्रालयका अनुसार सम्भाव्य गाँजा तथा अफिम जोखिमयुक्त जिल्लाहरूलाई विशेष प्रभावित, अति प्रभावित, प्रभावित र कम प्रभावित गरि ४ समूहमा विभाजन गरिएको छ । जसअनुसार गाँजा तथा अफिम जोखिमयुक्त जिल्ला मध्ये  दाङ प्रभावित समूहमा भएका कारण यस क्षेत्रमा विशेष निगरानी सहित सरोकारवाला निकायहरूको समन्वयात्मक कार्यक्रम सहितको रणनीतिको आवश्यकता औंल्याइएको थियो ।  कार्यक्रममा जिल्लाका सबै स्थानीय तहमा लागू औषध नियन्त्रण सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षदेखि प्रभावकारी ढङ्गले सञ्चालन गर्न निर्देशनात्मक सुझाव दिइएको थियो । त्यस अवसरमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोदले पालिकाका ८ वटै मावि तहका विद्यालयमा विद्यार्थीहरूका लागि लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम सुरु भैसकेको जानकारी दिए । 

त्यस्तै बबई गाउँपालिका अध्यक्ष कुलबहादुर वलीले पनि आगामी आर्थिक वर्ष देखि लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीका सञ्चालक सुरेश भुसालले पूर्व लागूऔषध प्रयोगकर्ताहरूको निः शुल्क स्वास्थ्य उपचार र रोजगारीको सुनिश्चित गर्न सकेमा लागूऔषध प्रयोगकर्ता निरुत्साहित गर्न सहज हुने र तस्करहरू पनि घट्ने सुझाव दिए  ।  त्यस्तै ब्रह्माकुमार शिवलाल महतरा, महिला मानवअधिकारकर्मी सुशीला पौडेल, नेपाल स्काउट दाङका संगीत अधिकारी लगायतले लागूऔषध दुर्व्यसनी न्यूनिकरणका लागि विद्यालयमा लागूऔषध प्रयोगको अवस्था चेकजाँच गर्ने, स्थानीय विषयमा लागूऔषध सम्बन्धी जानकारीमूलक पाठ्यक्रम, संस्कार, योगाभ्यास लगायतका विषय समावेश गरिनुपर्ने बताएका थिए । 

गृह मन्त्रालय शाखा अधिकृत दिलीप सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रशासन कार्यालय दाङ प्रमुख रामबन्धु सुबेदीले दाङ जिल्ला पनि लागूऔषधले प्रभावित जिल्ला रहेको हुँदा सबैलाई जागरुक हुन आग्रह गरे ।  गृह मन्त्रालयका उपसचिव महेश कुमार गुरुङको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका उप प्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार