दाङ : नेपाल प्रेस युनियन दाङ शाखाले आसन्न नेपाल पत्रकार महासंघ दाङको निर्वाचनलाई मध्यनजर सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने भएको छ । शनिवार घोराहीमा बसेको युनियनको बैठकले नेपाल प्रेस युनियनको नेतृत्वमा सजे सञ्चार संघ सङ्गठनहरूसँग वार्ता र संवाद गरि सर्वसम्मतिमा नेतृत्व चयन गर्ने निर्माण गरेको हो । सर्वसम्मत नेतृत्व चयन गर्नका लागि नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको संयोजकत्वमा पाँच सदस्य बाता संवाद समिति गठन गरेको छ ।
समितिको सदस्यमा उपाध्यक्षहरू गोपाल शर्मा भट्टराई , किरण शाह, पार्वती बस्नेत र सचिव अमरक्षितिज भण्डारी रहेका छन् । श्रमजीवी पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासङ्घमा प्रतिस्पर्धाभन्दा सहमतिमै नेतृत्व गर्न गर्नुपर्ने निष्कर्ष निकाल्दै प्रेस युनियन दाङले जिल्लामा क्रियाशील सबै सञ्चार संघ संगठनसंग बाता र संवाद अगाडि बढाउने निर्णय गरेको सचिव भण्डारीले जानकारी दिएका छन् । महासङ्घको नेतृत्वमा सक्षम र समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्ति आवश्यक रहेकाले सहमतिका आधारमा नेतृत्व चयनका लागि सबै सञ्चार संगठनहरू एक ठाउँमा उभिनुपर्ने बैठकको निष्कर्ष रहेको छ ।
त्यसैगरी नयाँ वर्ष २०८१ सालका अवसरमा यही बैशाख १९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि उपाध्यक्ष पार्वती बस्नेतको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, केन्द्रीय सदस्य देवेन्द्र बस्नेत, चेतन रेग्मी, पूर्व केन्द्रीय सदस्य केपी घिमिरे, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, उपाध्यक्ष पहलमान घर्ती, कार्यसमिति दुःखहरण यादव, नेपाल प्रेस युनियन दाङका सल्लाहकारहरू सन्तोष सुवेदी, सुशील बस्नेत, बसुन्धरा गौतम, नेपाल प्रेस युनियन दाङका निवर्तमान सचिव आरके शीतल लगायतले सर्वसम्मतिमा नेतृत्व चयनका लागि अग्रसरता लिन सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण सचिव भण्डारीले गरेका थिए ।