दाङ : लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार सरकार बिस्तार गर्दै आफ्नो मन्त्रिमण्डल ११ सदस्यीय पुर्याएका छन् । २३ चैत गते ४८ सांसदको हस्ताक्षरसहित उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महराले सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतका बीचमा चैत २२ गते नै ७ बुँदे सहमति गरेका थिए । जसमा जनता समाजवादी पार्टीलाई दुई , नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक/एक मन्त्रालय दिने सहमतिमा उल्लेख छ ।
सोही सहमति अनुरूप एकीकृत समाजवादीकी सांसद भगवती अधिकारी अन्तिम समयमा आएर मन्त्री बनाइएकी हुन । अन्तिम समयसम्म सांसद अधिकारीले मुख्यमन्त्री महरा प्रति रोष व्यक्त गर्दै आएकी थिइन । चार दलबीच भएको लिखित सहमतिमा जसपालाई दुई मन्त्री दिने सहमति छ । दुई मन्त्रालय नपाएपछि जसपा रुष्ट बनेको छ । जसपा प्रदेश अध्यक्ष अशोक यादवले शुक्रबार बैठक बसेर सरकारमा बस्ने कि नबस्ने भन्ने बारे अन्तिम निर्णय हुने बताए । बिहीबार जसपाका सांसद भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिई सकिएको छ ।
बिहीबार मन्त्री बनाइएका मध्य एमालेका दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री सबै बिनाविभागीय हुन । त्यस्तै नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीका भगवती अधिकारी पनि विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन ।मुख्यमन्त्री महराले एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अर्थ, माओवादीका दिपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन ।