कक्षा १२ का विद्यार्थीहरूको बिदाई

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख ५ गते बुधवार


दाङ :  घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरूलाई बिदाई गरिएको छ । गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरूको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरूलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसीको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यमा  भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीय मा नयाँ ढंगले अगाडि बढाउने बताए ।  

गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरूले योजनावद्ध तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरूबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरूले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रूपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए  । त्यस्तै उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरूलाई आगामी दिनको शुभकामना मन्तव्य दिँदै बिदाई हुनु एक नरमाइलो क्षण महसुस हुने र उच्च शिक्षाको लागि नयाँ  खुड्किलामा सुरुवात भएको र त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए ।

उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरूले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र यो दुई वर्षभित्र कलेजमा गुरुहरूबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकता सँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूको भनाइ थियो।  कक्षा १२ का छात्रा सजना पौडेलले पछिल्लो दुई वर्षमा गुरुहरूले सिकाएका कुरा अमूल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताइन । उनले कलेजमा गुरुहरूबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पुर्‍याउने र विद्यालयको सिर सधैँ उँचो बनाउने कुरामा जोड दिइन ।

कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरूले फरकफरक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा .कृष्णराज डिसी, विद्यालयका संयोजक महेन्द्र पौडेल , विद्यालयका प्लसटु विज्ञान संयोजक अजय शाह, शिक्षकहरू विवेक देवकोटा , महावीर घर्ती विद्यार्थीहरू स्वीकृति आचार्य सम्भव योगी ,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कक्षा ११ का छात्रा एजिना अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा ११ छात्रा प्रेरणा वली , सुबिक्षा आचार्य र छात्र सक्षम पौडेल र सुशान्त रावतले गरेका थिए, भने नेपाली विषयका विभागीय प्रमुख विवेक देवकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार