काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्नेतर्फ संकेत गरेका छन्। उनले गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर आशंका उब्जिएको बताए। सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पनि बताए।
मंगलवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग सांसद पाण्डेले कुनै पनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै सहकारी प्रकरणमा पनि छानबिन समिति बन्नुपर्ने संकेत गरेका हुन्। उनले संसदमा प्रतिपक्षले उठाएका कुरा सुन्नुपर्ने बताए।
उनले सत्तापक्षले जबरजस्ती संसद चलाउन नहुने बताए। सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताए। ‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस् भनेर आवाज उठाइसकेपछि सत्ता पक्षले सुन्नैपर्छ। सत्ता पक्षले जबरजस्ती गरेर हाउस चलाउँछु भनेर काम लाग्दैन। प्रतिपक्षमा बसेका वेला के गरेका थियौँ भनेर सम्झिए हुन्छ। सुन काण्ड छानबिन गर्न सरकारका स्थायी संयन्त्रहरु कुनै काम लाग्दैन आयोग बन्नैपर्छ भनेर गरेको हो कि होइन?‚’ उनले भने‚ ‘आफैँले नजिर बसाइसकेको छ। आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोप हो, होइन क्लियर गरेर आफूलाई चोखिने अवसर पाउने हो तर जबरजस्ती बस्न खोज्नु भनेको त्यहाँ केही बदमाशी छ भनेर शंका गर्ने ठाउँ छ।’
थाहा खबरबाट