पाल्पा : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले नछाड्ने बताएकी छन्। नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अनियमितता गर्ने नेता वा भीआइपी कसैलाई पनि सरकारले कानुनी दायरामा ल्याएरै छाड्ने बताइन्।
वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचारको शुन्य सहनशीलताबाट अगााडि बढेकाले अनियमिता गर्ने माथि जुनसुकै पार्टी, कर्मचारी तथा उच्च ओहोदाका व्यक्तिहरू भए पनि कारबाही हुने उनले बताइन्। अहिले पनि पक्राउ गरी मुद्दा चलाएर अनुसन्धान गर्ने काम भइरहेको छ। कानुन भन्दामाथि कोही छैन, कोही व्यक्ति सत्ताको आडमा दुई चार दिन लुकेर बस्लान तर दुई चार वर्षभित्र सबै अपराधीहरु कानुनको दायरामा आउने र कारबाहीको भागिदार बन्ने उनले चेतावनी दिइन्।
आफू सरकारमा रहँदासम्म निष्ठापूर्वक इमान्दार भएर काम गर्ने उनले स्पष्ट पारिन्। उनले सबै किसिमका मिडियाहरूलाई व्यस्थित रुपमा संचालन, नियमन, तथा अनुगमनको लागि बन्दै गरेको मिडिया काउन्सिल विधेयक छलफलका लागि संसदमा लैजाने तयारी भइरहेको बताइन्। यी दुवै आम सञ्चारसम्बन्धी विधेयक पारित भएपछि संघीय संरचनाअनुसार आमसञ्चार माध्यमहरूको नियमन तथा व्यवस्था हुने मन्त्री शर्माले बताइन्।
थाहा खबरबाट