प्रादेशिक आयुर्वेद चिकित्सालयमा वमन पद्धतिबाट उपचार सेवा शुरु

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २४ गते शनिवार

दाङ :  प्रादेशिक आयुर्वेद चिकित्सालय  बिजौरी दाङले वमन पद्धतिबाट उपचार सेवा शुरु गरेको छ । बालबालिका देखि जुनसुकै उमेरकालाई  फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएमा पद्धतिबाट उपचार गरिने अस्पतालको भनाइ छ । पहिलो पटक यो पद्धतिबाट उपचार सेवा शुरु भएपछि सेवा लिने बिरामीहरू बढ्दै गएको अस्पतालको भनाइ  छ ।   आयुर्वेदको पञ्चकर्म अनुसार यो वमन थेरापी पद्धति प्रधानकर्ममा पर्ने र त्यही अनुसार शुरु गरिएको अस्पतालका बालरोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीले बताए । अहिले बच्चाहरूमा यो पद्धतिबाट उपचार गर्न शुरु गरेको भन्दै उनले बच्चाहरूमा धेरै कफ प्रधान हुने समेत उनले बताए ।

उनले  भने,‘ बालबालिकाहरूमा उमेर अनुसार कफदोष बढ्ने हुन्छ । जसले गर्दा उनीहरूलाई श्वासप्रस्वास सम्बन्धी समस्या हुने, धेरै पटक रुघाखोकी लाग्ने, स्वास फर्ने समस्या हुने, दमको समस्या हुने गर्दछ । यस्तो समस्या हुनेलाई आयुर्वेदको विधिबाट गएर वमन पद्धतिबाट उपचार गरे एकदमै प्रभावकारी हुन्छ । ’ यस्तै उनले कुनै पनि बालबालिकाहरूलाई स्वास सम्बन्धी  समस्या वा दमको समस्या भएमा यो पद्धतिबाट उपचार गर्न समेत उनले आग्रह गरेका छन् । पञ्चकर्म विधिबाट औषधि खुवाएर उपचार गरेरमा यो रोगबाट मुक्त हुने उनको भनाइ छ ।

उनका अनुसार यस्तो समस्या भएका बालबालिकाहरू जति चाँडो उपचार गर्न आउँछन्, उति नै फाइदा हुने गर्दछ । उनले भने,‘ यस्तो समस्या भएको थाहा पाएर चाँडो आएमा छिट्टो निको हुन्छन् । तर, ४/ ५  वर्षदेखि यस्तै समस्या भोगेकाहरू आएमा पटक पटक थेरापी गर्नको लागि अस्पताल आउनु पर्दछ ।’  अस्पतालले यो सेवा प्रदान गर्न थालेको करिब २/ ३ महिना भएको र यस अवधिमा २/३ जना बालबालिकाहरूको उपचार भएको र उनीहरूलाई राम्रो भएको उनले बताए । अहिले ७/ ८  जना बिरामीहरूले यो सेवा लिनको लागि लाइनमा रहेको भन्दै यो सेवा विशेष गरी बसन्त ऋतुमा दिँदा अझ प्रभावकारी हुने समेत उनले बताए ।

यो समयमा कफदोष धेरै प्रधान हुने समेत उनको भनाइ छ  ।  मदनफल, बचा, यष्टिमधु , पिप्पली, मह, दूध लगायत मिसाएर बिरामीलाई खाली पेटमा खुवाइने र  खाएको  केही समयमै बमन गर्न थाल्छन् र शरीरभित्रका सबै विकार वस्तु बाहिर निकालेर  सन्चो बनाइने उनको भनाइ छ । घोराहीबाट छोरीको उपचार गर्न आएका  तिलक थापाले पहिलो पटक यो पद्धतिबाट उपचार गर्दा छोरीलाई निको  हुने आशा रहेको बताए ।  छोरीलाई लामो समयदेखि सुख्खा खोकी लागि रहेको र अन्य ठाउँमा उपचार गर्दा निको नभएपछि यस अस्पतालमा आएको उनको भनाइ छ ।

उनले भने,‘ छोरीलाई सुख्खा खोकी लागेर निकै समस्या भइरहेको थियो । स्थानीय मेडिकलमा उपचार गर्दा निको भएन । एक जना आफन्तीले यस अस्पतालमा यो पद्धतिबाट उपचार हुन्छ, भन्ने जानकारी दिएपछि यहाँ आएका हौँ । उपचार पद्धति देख्दा अनौठो रहेको छ । तर, अब निको हुन्छ, कि भन्ने आस रहेको छ ।’ यस्तै उनले अस्पतालमा नयाँ पद्धतिबाट उपचार सेवा भएयता पनि सबै कुरा अन्य अस्पतालको तुलनामा सस्तो रहेको समेत बताए । अस्पतालमा बेडको पनि न्यून शुल्क रहेको र खाना, नास्ता पनि निःशुल्क पाइने भन्दै उनले खुशी  व्यक्त गरे  ।

अस्पतालले पछिल्लो समय विभिन्न सेवाहरू दिँदै आइरहेको छ, भने बिरामीहरूको संख्या पनि बढ्दै गइरहेको छ । अस्पतालले शुरुदेखि पञ्चकर्म छुट्टै व्यवस्थित रुपमा सञ्चालन गर्दै आइरहेको अस्पतालका प्रमुख डाक्टर सन्तोष कुमार ठाकुरले बताए । यस्तै उनले बसन्त ऋतुमा वमन गर्दा राम्रो हुने भएकाले अस्पतालले वमन  सेवा दिँदै आइरहेको र स्वस्थ ब्यक्तिले पनि वमन गर्दा राम्रो हुने समेत बताए । यो पद्धतिबाट उपचार गर्दा बढिमा २ हजारसम्म खर्च लाग्ने र एक हप्तासम्म उपचार गर्नु पर्ने उनको भनाइ छ ।

उनका अनुसार अस्पतालले आयुर्वेदमा रहेका मौलिक चिकित्सा पद्धति र प्रक्रिया खोज्दै त्यसको विकास गर्दै उपचार सेवा दिँदै आइरहेको छ ।  यस्तै अहिले अस्पतालमा बिरामीहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको र ३० वटा बेडहरू पनि भरिभराउ रहेको उनले बताए । उनका अनुसार रोग अनुसार अस्पतालमा  रोग अनुसार थेरापिस्ट योगा, आयुर्वेद स्वास्थ्य शिक्षाका कार्यक्रमहरू ओपिडीबाट शुरु भएका छन् भने मानसिक स्वास्थ्यको लागि विशेषज्ञसहितको सेवा  प्रदान भइरहेको छ ।

यस्तै  शरीर शुद्धिकरणको लागि  पञ्चकर्मको तीन स्टेप हुने र जसमा   पूर्वकर्म,  प्रधानकर्म ,  पश्चातकर्मबाट सेवा दिँदै आइरहेको उनले बताए ।  अस्पतालले एकपछि अर्को सेवाहरू दिँदै आइरहेको छ, तर, अस्पतालको स्तरोन्नति नहुँदा सेवा दिन समस्या भइरहेको अस्पतालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार