दाङ : पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङले कृषकहरूलाई विभिन्न अर्गानिक तरकारीको बिउँ वितरण गरेको छ । तुलसीपुर १८ बिजौरीमा रहेको गन्यारी कृषि सहकारीका सदस्यहरूलाई बेमौसमी तरकारी खेतीको तालिम दिएर बिहीबार कृषकहरूलाई बिउँ वितरण गरेको हो ।तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गर्नको लागि सहकारीका सदस्यहरूलाई बेमौसमी तरकारीको अर्गानिक बिउँ र मैकको बिउँ दिइएको केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिए ।
यस्तै उनले आफूहरू दिइएको बिउँ किसानहरूले रोपेको वा नरोपेको बारेमा अनुगमन गर्ने भन्दै पूर्ण रुपमा अर्गानिक तरिकाले खेती गर्न आग्रह गरे । उनले भने,‘ हामीले जिल्लालाई १० वर्षभित्र अर्गानिक जिल्ला बनाउने उद्देश्य लिएका छौँ । त्यही अनुसार किसानहरूलाई अर्गानिक मल, औषधि र तामिल दिँदै आएका छौँ । त्यही अनुसार किसानहरूलाई हामी बिउँ वितरण गरेका हौँ । ’
उनका अनुसार अहिले करिब ३ बिगाहा क्षेत्रमा खेती गर्दै आएका कृषकहरूलाई बिउँ वितरण गरिएको हो । यस्तै उनले केही दिन अगाडि मात्र सहकारीको लागि कुखुरा पालन गर्न एक लाख २५ हजार सहयोग गरेको समेत बताए । यस्तै भट्टे बोडी, बोडी , करेला , भिण्डी गौरव जातको टमाटर , फर्सी, लौका र मकै अरुण जातको गरि २५ हजार रुपैयाँ बराबर बीउ बितरण गरिएको समेत उनले बताए ।