लुम्बिनीको मुख्यमन्त्री माओवादीले लिने सहमति

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २० गते मङ्गलवार

दाङ  : लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) ले लिने सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष  माधवकुमार नेपालबीच ६ वटा प्रदेशको बाँडफाँट टुंगिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले जानकारी दिए। ‘कर्णाली, गण्डकी एमालेले तथा लुम्बिनी र बागमती माओवादीले लिने सहमति भएको छ। लुम्बिनीमा आलोपालोको सहमतिअनुरूप पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ। त्यसपछि एमालेले नेतृत्व लिने सहमति भएको छ,’ उनले भने।

मधेसमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव मुख्यमन्त्री छन्। सुदूरपश्चिम प्रदेश एकीकृत समाजवादीको भागमा परेको छ। यसअघि २०७९ पुस २७ गते एमालेका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुँदा माओवादीका जोखबहादुर महरा झण्डै तीन महिना अर्थमन्त्री बनेका थिए।   केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनीमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

पछिल्लो समय संघमा परिवर्तित राजनीतिक समीकरणपछि गत फागुन २३ गते मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको एक महिनामा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ। चौधरीले विश्वासको मत पाउने सम्भावना न्यून छ। संसदमा विश्वासको मत प्राप्त गर्न नसकेमा चैत २३ गते नयाँ सरकार बन्ने बाटो खुल्छ। चैत २३ गतेभित्रै आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका महराले सोही अनुरूप आन्तरिक तयारी गरिरहेको दोहोर्‍याएका थिए। महरा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका विश्वास पात्र समेत हुन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन्। बहुमत सिद्ध गर्न ४४ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन्।

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार