प्रथम घोराही गोल्डकप फुटबलको उपाधि घोराहीले जित्यो

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १७ गते शनिवार


दाङ :  प्रथम घोराही गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि घोराही उपमहानगरपालिकाले जितेको छ । घोराही उपमहानगरपालिकाले यस वर्ष देखि आयोजना गरेको उक्त प्रतियोगिताको फाइनल खेलमा लमही नगरपालिकालाई पराजित गर्दै घोराही उपमहानगरपालिकाले गोल्डकपको उपाधि जितेको हो । घोराही १८ नवलपुर खेल मैदानमा शनिबार भएको अन्तिम खेलमा ९० मिनेटको अवधिमा समान २- २ गोल गरेपछि पेनाल्टी सुटआउटमा घोराहीले लमहीलाई ४—२ ले पराजित गर्दै प्रथम पुरस्कार नगद एक लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी, लमहीले उपविजेता बन्दै नगद ८० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विजेता तथा उपविजेतालाई नगर प्रमुख नरुलाल चौधरीले पुरस्कार प्रदान गरेका थिए ।  घोराही उपमहानगरपालिका नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा घोराहीका बिकेश चौधरी म्यान अफ द म्याच, घोराहीकै उत्कृष्ट खेलाडी दिपेश पुन, उत्कृष्ट किपर भीम पुन, लमहीका सुमित  थारू उत्कृष्ट मीड खेलाडी, सर्वाधिक गोलकर्ता घोराहीका कमल बिक, उत्कृष्ट डिफेन्डर लमहीका सोम चौधरी, उत्कृष्ट फरवार्ड कर्ता घोराहीका सागर कुमाल थारूलाई घोषित गर्दै पुरस्कार प्रदान गरिएको छ ।

रेफ्रिहरु गोपाल कुँवर, कमलबहादुर पुन, सुरज चौधरी, शरद भण्डारी र पर्याप्त चौधरीलाई समेत प्रमाणपत्र प्रदान गरिएको छ । टिम म्यानेजरहरु घोराहीका प्रविण पुन र लमहीका खगेन्द्र चौधरीलाई पनि प्रमाणपत्र प्रदान गरियो । स्वयंसेवकको रुपमा खट्ने रमेश घर्ती, रुद्रबहादुर घर्ती र हिमाल ज्ञवालीलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा घोराही, तुलसीपुर, लमही, बबई, शान्तिनगर, दंगिशरण, राप्ती गरि ७ वटा पालिका सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार