छनौट प्रतियोगितामा चार सय बढी खेलाडी सहभागी

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १७ गते शनिवार

दाङ :  दाङमा १३ वर्षमुनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा ४ सय बढी खेलाडी सहभागी भएका छन् । एन्फा एकेडेमीका लागि छात्र र छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङ जिल्लाबाट ४ सय ४ जना खेलाडीले सहभागिता जनाएका हुन् । जुन संख्या अहिलेसम्मकै धेरै हो । यसअघिका छनौट प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी हुन सकेका थिएनन् । पछिल्लो समय फुटबल क्षेत्रमा गतिविधि उल्लेख्यरूपमा बढेपछि १३ वर्षमुनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा दाङबाट ४ सय ४ जना खेलाडीले सहभागिता जनाएको अखिल नेपाल फुटबल संघ ( एन्फा ) दाङका अध्यक्ष सञ्जात धितालले बताए ।

  उनले विभिन्न समयमा प्रतियोगिताको आयोजना गरिन थालेकाले पनि फुटबल खेलप्रतिको आकर्षण बढ्दै गएको बताए ।  जिल्लास्तरीय छनौट प्रतियोगितामा ३० जना छात्रा र ३ सय ७४ जना छात्र खेलाडीले सहभागिता जनाएको उनले बताए ।  १३ वर्ष मुनिको फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङको तुलसीपुरमा शुक्रबार र शनिबार दुईसम्म जिल्लास्तरीय छनौट प्रतियोगिता भएको हो । जिल्लामा छनौट भएकाको नामावली आइतबार साँझसम्म प्रकाशित गरिने जिल्ला अध्यक्ष धितालले बताए ।  जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेश हुँदै केन्द्रको प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले बताए   ।

यही चैत २४ देखि ३० गतेसम्म प्रदेशस्तरीय छनौट प्रतियोगिता हुने एन्फा दाङका कोच दुर्गा राजलवटले जानकारी दिए ।  उनले एन्फा दाङमा नयाँ नेतृत्व आएपछि फुटबल खेलका गतिविधि बढेको बताए  ।  खेलकुदमा गतिविधि बढेकै कारण खेल प्रतियोगितामा उत्साहजनक सहभागिता हुन थालेको उनको भनाई छ । जिल्लास्तरीय छनौट प्रतियोगिताको अनुगमन, निरीक्षण एन्फा लुम्बिनी प्रदेशका कोषाध्यक्ष केशव चौधरी ( मिग्मा ) ले गरेका थिए ।  एन्फाले काठमाडौँमा बैशाख ३ गतेदेखि १० गतेसम्म हुने छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई आवासीय सुविधा सहित खेल प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार