दाङ : घोराही उपमहानगरपालिका १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताए । घोराही १५ मा रहेको गुरुकुल एकेडेमीको प्रि -विद्यालयका विद्यार्थीहरूको दीक्षान्त समारोह तथा हजुरबुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताए । बालबालिकाहरूको मनोविज्ञान बुझेर शिक्षण सिकाइ गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उनले बताए । ‘विद्यार्थीहरूलाई दबाब दिएर सिकाइ उपलब्धि हुँदैन । ’ उनले भने। त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरूलाई उनले आग्रह समेत गरे ।
विद्यार्थीहरूलाई अरुसँग तुलना गर्न नहुने भन्दै उनले अभिभावकहरूले विद्यार्थीलाई अरु यस्तो, उस्तो भनेर तुलना गर्न नहुने बताए । यसले बालबालिकाहरूलाई नकारात्मक सोचको विकास गराउने उनको भनाइ रहेको छ । पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी बढ्दै गएको समेत उनले बताए । यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उनको भनाइ रहेको छ । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरू लाग्नु पर्ने समेत उनले बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले गुरुकुल एकेडेमी स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हासिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनीहरूले शिक्षासँगै विद्यार्थीहरूलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसीले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताए । पूर्ण मानव सृजना गर्ने मूल ध्येयका साथ सञ्चालनमा आएको गुरुकुल एकेडेमीले विद्यार्थीहरूलाई दिइने शिक्षण सिकाइमा कुनै कमजोरी नहुने बताए ।
साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरूलाई धन्यबाद समेत प्रदान गरेका थिए । दीक्षान्त कार्यक्रममा प्रि २ का ५३ जना विद्यार्थीहरूलाई दीक्षान्त गरिएको हो भने प्रि १ र २ का विद्यार्थीहरूका हजुरबुवा हजुरआमाहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूले बिभिन्न नृत्य प्रस्तुत गरेको थिए भने विज्ञान प्रदर्शनी पनि प्रस्तुत गरिएको थियो । त्यस लगत्तै अभिभावकहरूको लागि खेल पनि खेलाइएको थियो ।
कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरी , पद्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेत , शिक्षक विवेक देवकोटा ,अभिभावक तथा प्रि २ का विद्यार्थीहरूले मन्तव्य राखेका थिए । विद्यालयका प्रिन्सिपल डा . डिसीको अध्यक्षता तथा विद्यालयका मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गरेका थिए ।