खुमबहादुर विरुद्ध लगाइएको मुद्दा झुटो : सभापति देउवा

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १६ गते शुक्रवार

दाङ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्का विरुद्ध झुट्टा मुद्दा लगाएर फसाइएको दावी गरे । शुक्रबार दाङको लमही नगरपालिका ९ अमिलियामा स्वर्गीय नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले खड्कालाई भ्रष्ट्राचारको झुटो मुद्दामा फसाइएको दावी गरे । यस्तै उनले खड्का देशको सच्चा सपूत भएको समेत बताए ।

उनले भने ,‘ उहाँलाई षड्यन्त्र पूर्ण तरिकाले जेल हाल्यो । झुट्टा मुद्दा लगाएर फसाउन खोज्यो, फसायो त्यसले केही भएन । उहाँको हाइट झनझन् बढ्दै गयो । उहाँ राष्ट्रको सपूत हो । हामीले त्यस्ता व्यक्तिलाई मुद्दा लाग्दैमा आश्चर्य मान्नुहुँदैन । त्यसकारण मुद्दाको कुरा हामीले उठाउने कुरा छैन् ।’ उनले खड्का परिवारहरूले धेरै कुराहरू सहँदै आएको समेत बताए । स्वर्गीय खड्काको सालिक अनावरण गर्न यहाँ दाङ आएका देउवाले उनको प्रशंसा र योगदानको चर्चा समेत गरेका थिए ।

उनले भने,‘ उहाँ त्यस्तो व्यक्तिको हो रु गरेर नथाक्ने, ठूलो अडान भएको व्यक्ति हो । अस्थिहरूको लागी समर्पित व्यक्ति हो । साथीको लागी ज्यान दिन सक्ने, ठूलो कष्ट सहन सक्ने व्यक्ति हुनुहुन्थ्यो । त्यस्तो व्यक्तिको बारेमा कुरा गरेर साध्य हुँदैन् । उहाँले छोडेर गएका कामहरू हामीले पुरा गर्नुपर्छ ।’ खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो । खड्का कांग्रेसमा पूर्व महामन्त्रीको जिम्मेवारी समेत पाएका थिए । पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेलसम्म पुगे । २ ०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो ।

अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट भने खड्का दोषी ठहर भएका थिए । २ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा २०६३ चैतमा पुनरावेदन गरेको थियो । वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो । सर्वोच्चले उनलाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो थियो । उनी २०७० मा जेलमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार