काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आग्रह गरिन् । नेपाल– इटाली चेम्बर अफ कमर्सको दसौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण गरेको पनि स्पष्ट पारिन् । ‘हामीले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गर्दै यसमा लगानी खुला गरेका छौं’– उनले भनिन्,– ‘नागरिक र राज्यका डाटा सुरक्षा लगायत राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका क्षेत्रमा बाहेक सूचना प्रविधिका अन्य क्षेत्रमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न हामीले लगानीमैत्री नीति अघि बढाएका छौं ।’
लगानीको वातावरण बनाउन सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाएको, दर्ता, नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको जानकारी दिँदै उनले अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आईटी कम्पनीहरू सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको बताइन् । ‘सरकारी तवरबाट संख्या यकिन गर्न बाँकी नै रहेको भए पनि अहिले झण्डै एक लाख जति आईटी जनशक्तिले देशभित्रै बसेर सीप र सेवा विभिन्न मुलुकमा निर्यात गरिरहेको अवस्था छ’– उनले भनिन् – ‘लगानीमैत्री नीति र कानुन तथा दक्ष जनशक्ति उपलब्धता आदिले आईटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु ।’
मन्त्री शर्माले सरकार आगामी महिना हुने चौथो लगानी सम्मेलनको तयारीमा जुटेको जानकारी गराउँदै इटालीका लगानीकर्ताहरूलाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल- इटाली चेम्बर अफ कमर्सलाई आग्रह गरिन् । ‘यहाँहरू जानकार नै हुनुहुन्छ, सरकार लगानी सम्मेलनको तयारीमा छ । अबको एक महिनापछि नेपालमा चौथो लगानी सम्मेलन हुँदैछ’– उनले भनिन् – ‘यसमा धेरै भन्दा धेरै इटालीका लगानीकर्ताहरूलाई आकर्षित गरेर लगानी वृद्धिको वातावरण सिर्जना गर्न यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने सरकारको विश्वास रहेको छ ।’ लगानी सम्मेलनलाई मध्यनजर गरी दर्जन बढी कानुनहरू तत्काल संशोधन गर्ने तयारी रहेको पनि उनको भनाइ थियो ।
सन् १९५९ अगस्ट ३१ मा नेपाल र इटाली बीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीचको सम्बन्ध निरन्तर सुमधुर रहँदै आएको स्मरण गराउँदै उनले भूकम्पपछि इटालीले प्रदान गरेको सहायता र विशेषगरी सांस्कृतिक, वास्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा पुर्याएको योगदानप्रति नेपाल सधैँ आभारी रहने तथा यो सहयोग दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकको रूपमा रहने विश्वास पनि व्यक्ति गरिन् ।
पछिल्लो समय नेपाल र इटली बीच द्विपक्षीय व्यापारको राम्रो सम्भावना बढ्दै गएको उल्लेख गर्दै उनले निर्यात बढाउँदै ब्यापार सन्तुलन कायम गर्नुपर्ने बताइन् । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक पठाउने देशमा पनि इटालियन अगाडि रहेको उल्लेख गर्दै मन्त्री शर्माले प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेको रुपमा रहेको नेपालमा पर्यटकको संख्या गुणात्मक रुपमा बढाउन आवश्यक रहेको बताइन् ।