दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजवाद निर्माणको लागी बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताइन् । मंगलबार समाजवादी मोर्चा नेपाल, घोराही उपमहानगरपालिका वडा नम्बर १७ र १८ को संयुक्त वडा भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले मुलुकमा राजनीतिक स्थिरता कायम गरी अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्दै शोषण, दमन, उत्पीडन, भेदभावविरुद्धका मुद्दामा समाजलाई सही दिशानिर्देशन गर्नका निम्ति कम्युनिष्ट शक्तिको आवश्यक रहेको बताइन् ।
उनले देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निर्माण भएको समाजवादी मोर्चालाई स्थापित गराइने बताइन् । सरकारका प्रवक्ता समेत रहेकी शर्माले अबको सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने बताइन् । उनले आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकास तर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माण तर्फ अगाडि बढ्ने बताइन् ।
समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचो रहेको पनि उनको भनाइ छ । अहिले मौलाइरहेको भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धिकरणको खाँचो औँल्याउँदै उहाँले शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेकाले समाजवादी मोर्चाको भूमिका बढाउँदै लैजाने उनको भनाइ थियो ।