डाक्टर तथा कर्मचारीले करिब ७ महिनादेखि तलब पाएनन्

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र ११ गते आइतवार

दाङ :   राप्ती  प्रादेशिक अस्पतालमा कार्यरत  डाक्टर तथा कर्मचारी गरी २३ जनाले  करिब ७ महिनादेखि तलब पाउन सकेका छैनन्  । पेडियाट्रिक सेवातर्फ अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीहरूको एक करोड बढि रकम प्रदेश सरकारबाट नआउँदा उनीहरूले तलब नपाएको अस्पतालले जनाएको छ । पेडियाट्रिकसियन नबौँ तहका १ जना, मेडिकल अफिसर ३ जना, स्टाफ नर्स पाचौँ तहका १२  जना , कार्यालय सहयोगी ७ जना गरी २३ जनाको एक करोड चार लाख ७७ हजार ९२६ रकम नआएको अस्पतालको भनाइ छ । जसमा मासिक तलब, चाडपर्व खर्च, पोशाक  खर्च हो ।

राज्यबाट नियमित रुपमा आउनु पर्ने रकम नआउँदा उनीहरूले लामो समयदेखि तलब नपाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमराज न्यौपानेले बताए । गत वर्षको असार महिनासम्म तलब दिएको भएयता पनि चालु आर्थिक वर्षको साउन महिनादेखि यता  तलब नदिएको उनको भनाइ छ ।   उनले भने,‘ अहिले हामीले आन्तरिक रुपमा ति कर्मचारीहरूलाई चौमासिक तलब दिएका छौँ । तर, हामीले सधैँभरि खुवाउन सक्दैनौँ । अस्पताल व्यवस्थापन समितिले पनि कर्मचारीहरू राखेको छ । उनीहरूलाई पनि हामीले हेर्नुपर्छ । ’
यस्तै उनले लामो समयसम्म कर्मचारीहरूलाई तलब विना काम गराउन नसक्ने भन्दै उनले सरकारले अब तलब दिन सकिँदैन, यो सेवा बन्द गर्नु पर्यो, भनेर अहिलेसम्म काम गरेको पैसा दिनु पर्छ, होइन्, भने दिनरात सेवा गर्न कर्मचारीहरूलाई समय मै तलबको व्यवस्थापन हुनु पर्ने बताए । उनले अस्पताल व्यवस्थापन समितिले अस्पताललाई व्यवस्थित र आत्मनिर्भर बनाउने काम भएयता पनि राज्यले नियममा बाँधेका कारण समस्या भइरहेको बताए ।
उनले भने,‘ राज्यले सरकारी अस्पताललाई न्यून शुल्कमा सेवा दिने व्यवस्था गरेको छ । अहिले अस्पतालमा ५० बेडको जनशक्ति रहेको छ । हामीले केही जनशक्तिलाई पुरै तलब र केहीलाई दैनिक ज्यालादारी दिएर सेवा दिँदै आएका छौँ ।  हामीलाई अहिले बिरामीको चाप अनुसार करिब सवा ५ सय जना जनशक्ति आवश्यक पर्छ, तर, अहिले २३७ जना जनशक्तिले सेवा दिँदै आएका छन् ।  अस्पताललाई  ३ वर्ष अगाडि २ सय बेडको बनाउने भनेर पत्र आएको थियो  । तर, अहिलेसम्म त्यो पुरा भएको छैन् । ’
अस्पतालमा आर्थिक वर्ष २०७९ चैत १५ गतेदेखि नयाँ पेडियाट्रिक सेवा सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालयबाट चैत स्वीकृत टिप्पणी र आदेश अनुसार आवश्यक पर्ने जनशक्ति सम्बन्धमा निर्णय भएको थियो । यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार सरकारबाट भनेजति बजेट नआउँदा समस्या हुने गरेको छ ।
उनले भने,‘ अहिले अस्पताल विकास समितिको पैसा नभएको भए अस्पतालका सबै सेवाहरू बन्द हुने थिए । डाइलासिस सेवाको गत वर्षको फागुन महिनादेखि असारसम्मको पैसा आएको छैन् । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको आएको छ । त्यो भन्दा पछाडि अहिलेसम्मको आएको छैन् । पछि पैसा आएपछि दिने गरी अहिलेसम्म सबै काम समितिको पैसा प्रयोग गरेर भएको छ ।’ यस्तै अस्पतालका कर्मचारीहरूको कतिपयका लामो समयदेखि तलब नआएको र कतिपयको २ / ४ महिनाको बाँकी रहेको समेत उनले बताए । उनका अनुसार स्वास्थ्य बिमाको रकम पनि एक करोड भन्दा बढि आउनु पर्ने रहेको छ ।
यस्तै अस्पतालमा कर्मचारीहरू कम हुँदा पूर्ण रुपमा राख्न नमिल्ने भएको हुँदा दैनिक ज्यालादारीमा राखेर सेवा दिँदै आइरहेको बताए उनले बताए ।  तलबका बारेमा आफूले पटक पटक प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको समेत उनले बताए ।  अहिले ल्याबका दैनिक ज्यालादारीमा कर्मचारीहरू राखेर सेवा दिइरहेको भन्दै उनले सरकारले ल्याबको लागि दुई जना मात्र पठाएको समेत बताए । अहिले ल्याबमा १२ जना कर्मचारीहरू रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार