दाङ : कारागार कार्यालय तुलसीपुर दाङको आयोजनामा तथा राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । जसमा २६१ जना पुरुष र ४९ जना महिला गरि जम्मा ३१० जना कैदीबन्दीहरूले सेवा लिएको कारागार प्रशासनले जनाएको छ । तुलसीपुर कारागारमा रहेका कैदीबन्दी दिल बहादुर थापा देब्रे आँखा देख्न सक्दैनन् । विगत ४/ ५ वर्ष देखि आँखा देख्न छोडेका थापा कारागार चलान भएपछि झन आँखामा समस्या आउन थालेको बताए ।
जिल्ला कारागार सल्यानमा रहेका उनी आँखा उपचार गर्नका लागि कारागार कार्यालय तुलसीपुर आएको बताए । कारागार भित्र सञ्चालन भएको एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा उपचार पाएपछि धेरै खुशी लागेको उनको भनाइ छ । उनको मोतिबिन्दुको शल्यक्रिया हुने भएपछि फेरि आँखा देख्ने आशा पलाएको समेत बताए । यस्तै कम मात्रमा सुन्ने नोखी खत्रीले पनि आँखा नदेख्दा अरूको सहारामा हिड्ने, खाने गर्नु पर्ने वाध्यता रहेको छ । करिब ५ वर्षदेखि मोतिबिन्दुको कारणले एउटा आखाँको सहारामा हिँडडुल गर्छिन् । कारागारमा उपचार पाएपछि अहिले तुलसीपुर कारागारमा रहेका तथा अन्य पहाडी जिल्लाबाट आएका आँखाका बिरामी सबै खुसी भएका छन् ।
यस्तै कारागारमा जीवन बिताइरहेका अनन्त बहादुर टमाटाले पनि मोतिबिन्दुको कारणले कम आँखा देख्न थालेको करिब ३० वर्ष भएको छ । जेल जीवनमा आँखाको उपचार पाउने कुनै आशा समेत थिएन, तर अहिले उपचार पाउँदा धेरै खुशी लागेको बताए । कारागारमा कैदी जीवन बिताइरहेकाहरूको आँखा स्वास्थ्यको अवस्थालाई मध्यनजर गरी आँखा शिविरको आयोजना गरिएको कारागार कार्यालय तुलसीपुरका कारागार प्रशासक चिन्तामणि रेग्मीले बताए । उनले धेरै कैदीबन्दीहरूको आँखामा समस्या भएकोले आँखा अस्पतालसँग समन्वय गरी उपचार सेवा प्रदान गरिएको बताए ।
कारागारमा विभिन्न उमेर समूहका कैदीबन्दी रहेको र धेरै जना आँखाका बिरामी तथा प्रेसर, सुगर, थाइराइड तथा कोलस्ट्रोलका बिरामी हुँदा आवश्यकता अनुसार विशेषज्ञ सेवा कारागारले दिँदै आएको जनस्वास्थ्य निरीक्षक दोर्ण ओली बताए । शिविरमा १० जनामा मोतिबिन्दु , ८ जनालाई तत्काल उपचारको लागि रिफर गरिएको छ । यस्तै ६६ जनालाई नि :शुल्क नजिकको चस्मा वितरण गरिएको राप्ती आँखा अस्पतालका दृष्टि विशेषज्ञ सुजन रिजालले बताए । दृष्टि विशेषज्ञ सुजन रिजालले नेत्र सहायक बालिका सेरपाइली , पवित्र चौधरी, दीपकराज गिरी, शुभम् पोख्रेल, योजना घर्ती र पूर्ण ओली लगायतका टोलीले सेवा दिएको हो ।